ताप्लेजुङका अधिकाँस पालिकाद्धारा बिद्यालय बन्दको सूचना,प्याब्सनले पनि दियो दुईदिन बिदा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । बर्षाको क्रम जारी रहेको र मौसमविद्हरुले भारी बर्षाको सम्भावना औंल्याएपछि ताप्लेजुङका स्थानीय तहले धमाधम बिद्यालय बन्द गर्दै स्थानीयलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

फक्ताङलुङ गाउँपालिकाले असोज ९ देखि ११ गतेसम्म पालिका भित्रका सबै बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले सम्भावित प्रतिकुल मौसमलाई ध्यानमा राखी तीनदिन पालिका क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । सिदिङ्वा गाउँपालिकाले शुक्रवारसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाले बिहीबार एक सूचना आवह्वान गर्दै सम्भावित भारी बर्षा र बाढी र पहिरोको जोखिम हुनसक्ने आङ्कलन गर्दै बिद्यालय बन्द गरिएको जानकारी दिनु भएको छ । शनिवार र आइतवार स्वत बन्द हुने भएकोले पालिकाले शुक्रवासम्मका लागि बिदा दिएको छ ।

सिरिजङ्गा गाउँपालिकाले असोज ८ र ९ गते बिद्यालय बन्द हुने जनाएको छ । पालिकाका शिक्षा अधिकृत डिल्लीराज खड्काले शुक्रवारसम्म बिद्यालय बन्द गरिएको जानकारी दिनुभयो । मिक्वाखोला गाउँपालिकाले समेत शुक्रवारसम्मलाई बिद्यालय बन्द गरिएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले एक सूचना जारी गर्दै सम्भावित जोखिम अवधिसम्म बिद्यालय बन्द हुने बताउनु भएको छ । पाथीभरा याङवरक गाउँपालिकाले मिन पचासको बिदाबाट कटौति हुनेगरी शुक्रवारसम्म पालिका भरीका बिद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत ठाकुर प्रधानले जानकारी दिनु भएको छ ।

आठराई त्रिबेणी गाउँपालिकाले सर्तकर्ताको लागि आग्रह गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले एक सूचना जारी गर्दै मौसमविद्हरुले भारी बर्षा,बाढी र पहिरोको उच्च जोखिम औंल्याएकोले पूर्व सर्तकर्ताका र सावधानीका लागि आग्रह गर्नु भएको छ । आठराई त्रिबेणी गाउँपालिका शिक्षा समितिको बैठकले असोज ९ देखि ११ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय लिएको पालिका अध्यक्ष तथा पालिका शिक्षा समितिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनु भएको छ ।

निजी तथा आवासीय बिद्यालयहरुको संगठन जिल्ला प्याब्सन ताप्लेजुङले दुईदिनका लागि प्याब्सन आवद्ध बिद्यालयहरुमा बिदा दिएको जनाएको छ । अध्यक्ष देवराज गुरुङ र सचिव तरुण भारतीले एक विज्ञप्ति जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिद्यालय बिदा गरिएको जानकारी दिनुभयो । फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुले विपद्को सम्भावित जोखिमका समयमा सावधानी अपनाउन आग्रह गर्नु भएको छ ।

मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदुर अधिकारीले सर्तकर्ताका र सावधानीका लागि आग्रह गर्दै विपद्को समयमा अत्यावश्यक काम बाहेक घर बाहिर नजान र जोखिमको पूर्व मूल्याङ्कन गर्दै जोखिम समयभर सुरक्षित स्थानमा जान आग्रह गर्नु भएको छ । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्लाका ९ वटै पालिकालाई अनुरोध पत्र लेख्दै सम्भावित विपद् जोखिलाई मध्यनजर गर्दै असोज ९ गते देखि ११ गतेसम्म पालिका अन्तरगतका बिद्यार्थीलाई सुरक्षित तवरले बिद्यालय आउने जाने व्यवस्था मिलाउन र आवश्यक परे बिद्यालय बन्द गर्नुपर्ने भए सोहि अनुसार व्यवस्था मिलाउन आग्रह गर्नु भएको थियो ।

Similar Posts