आठराई त्रिबेणीमा जेठ १ बाट गोलिया काठको ढुवानी बन्द
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २९ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले यही जेठ १ गते देखि आउँदो असोज मसान्तसम्मका लागि गोलिया काठको ढुवानी तथा निकासी बन्द गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभय राजवंशीका अनुसार बर्षातको समयमा गोलिया ढुवानी गर्दा सडकहरु बिग्रने तथा भत्कने भएका कारण उक्त समयमा गोलिया काठको ढुवानी,निकासी तथा ओसारपसारमा प्रतिवन्ध गरिएको हो । पालिकाले आफ्ना गोलियाहरु निकासी,ढुवानी तथा ओसारपसार गर्न बाँकी रहेको भए बैशाख मसान्तसम्ममा उक्त कार्य सकिसक्न गोलिया व्यवसायीलाई समयावधि दिएको छ ।
पालिकाले उक्त अवधिमा कसैले ढुवानी तथा निकासी गरेको पाईएमा गालिया काठ र ट्रयाक्टर समेत जफत गरी प्रचलित कानुन अनुसार कारवाही गर्ने चेतावनी समेत दिएको छ । पालिकाले उक्त निर्णय कार्यान्वयनका लागि सहयोग गर्न पालिकाका सबै वडाहरु,इलाका प्रहरी कार्यालय दोभान,प्रहरी चौकी हाङपाङ,अस्थायी प्रहरी चौकी निघुरादिन र अस्थायी प्रहरी चौकी फुलवारी समेतलाई जानकारी गराएको छ ।
यसअघि सिरिजङ्गा गाउँपालिकाले जेठ १ गते देखि अर्को सूचना जारी नभइञ्जेलसम्मका लागि गोलिया काठको ढुवानी तथा निकासी बन्द गर्ने जनाइसकेको छ ।