आठराई त्रिबेणीले निःशुल्क विद्युत उपभोग गरिरहेका उपभोक्ताहरुको स्व–घोषणा अद्यावधिक गर्ने
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २७ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले निःशुल्क विद्युत उपभोग गरिरहेका उपभोक्ताहरुको स्व–घोषणा अद्यावधिक गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत अभय राजवंशीका अनुसार निःशुल्क विद्युत सेवा उपभोग गरिरहेका लाभग्राहीहरुले बैशाख २७ को मितिले ७ दिन भित्र स्व–घोषणा अद्यावधिक गर्नुपर्ने हुन्छ । पालिकाले निःशुल्क विद्युत महशुल भुक्तानी गर्ने सम्वन्धी कार्यविधि २०७९ को अनुसूची–१ बमोजिमको फारममा स्व–घोषणा अद्यावधिक गर्नुपर्ने हुन्छ । पालिकाले स्व–घोषणा फारम अद्यावधिक गर्ने कार्यको सहजीकरणका लागि सम्वन्धित वडापालिकालाई आग्रह समेत गरेको छ ।
स्थानीय तहको निर्वाचन २०७९ बाट को निर्वाचनबाट निर्वाचित भएलगत्तै पालिका अध्यक्ष दीपेन्द्र पोमूले पालिकाभरीका सेवाग्राहीले घरायसी प्रयोजनका लागि प्रयोग गरेको विद्युतीय महशुलको भुक्तानी पालिकाबाट गर्ने निर्णय पालिकाबाट गराई कार्यान्वयन गर्दै आउनु भएको छ । पोमूले आफ्नो निर्वाचन प्रतिबद्धतामा पालिकाका सेवाग्राहीले घरायसी प्रयोजनमा प्रयोग गर्ने विद्युतको महशुल पालिकाले तिरिदिने घोषणा गर्नु भएको थियो ।