ताप्लेजुङ खाद्यले चामल सहित बुधवारबाट चिनी समेत बिक्री गर्दै,स्थापनाको ४८ बर्षपछि चिनीको बिक्री सुरु हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १३ । चामल मात्र बिक्री गर्दै आइरहेको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले बुधवारबाट चिनीको समेत बिक्री गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका कार्यालय प्रमुख प्रकाश तिम्सिनाले मंगलवार अपरान्ह खाद्यमा चिनी आइपुगेको र बुधवारबाट त्यसको बिक्री गर्ने योजना बनाएको जानकारी दिनुभयो । तिम्सिनाका अनुसार पहिलो चरणमा १८ हजार किलोग्राम चिनी आइपुगेको छ । खाद्यले प्रतिकिलो ग्राम १ सय १० रुपैयाँका दरले चिनी बिक्री गर्ने कार्यालय प्रमुख तिम्सिनाले जानकारी दिनुभयो । यो बजार मूल्य भन्दा निकै सस्तो दर हो ।

तिम्सिनाका अनुसार एकजनालाई बढीमा ६ किलोग्रामका दरले चिनी बिक्री गरिने छ । खाद्यबाट खरिद गरेर लगिएको चिनी र चामल सहितका उपभोग्य बस्तु व्यक्तिगत उपभोगका लागि मात्र भएकोले खरिद गरेका व्यक्तिले बिक्री गरेको पाईए कानुन अनुसार कारवाही हुने यसअघि नै खाद्यले चेतावनी दिई सकेको छ । तिम्सिना खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाको प्रवन्धक भएर आएपछि बिदाका दिनमा समेत चामलको बिक्री गर्ने प्रणाली सुरु गर्नु भएको थियो । यसले खाद्यको चामलको बिक्री अवस्था बढाएको थियो ।

तिम्सिनाले चामल बाहेक चिनी र तेलको बिक्री समेत सुरु गर्नेगरि पहल अघि बढाउनु भएको थियो । सोहि प्रकृया अन्तरगत ताप्लेजुङमा खाद्यले पहिलो पटक चामल बाहेक चिनीको समेत बिक्री सुरु गर्ने भएको छ । २०३५ सालमा ताप्लेजुङमा स्थापना भएको खाद्यले स्थापनाको ४८ बर्षपछि चामल बाहेक चिनीको समेत बिक्री सुरु गर्न लागेको हो । तेल समेत बिक्रीका लागि आफुले पहल गरिरहेको र प्राप्त भएपछि कम्तिमा चामल,चिनी र तेलको बिक्री गर्ने योजना रहेको तिम्सिनाले सुनाउनुभयो ।

 

Similar Posts