१५ दिन भित्र व्यवसाय दर्ता नगरे व्यवसाय बन्द सहितका कारवाहीमा उत्रने फुङलिङ नगरपालिकाको चेतावनी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १२ । व्यवसाय दर्ताका लागि पटक–पटक आह्वान गरेको ताप्लेजुङको फुङलिङ नगरपालिकाले व्यवसाय दर्ता नगर्ने व्यवसायीको व्यवसाय बन्द गर्ने सहितका चेतावनी सहित व्यवसाय दर्ताका लागि १५ दिनको समय दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मोहनलान पनेरुले एक सार्वजनिक सूचना आवह्वान गर्दै व्यवसाय दर्ताका लागि अन्तिम पटक मौका दिएका हुन् । पनेरुले फुङलिङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिहीबार पद वहाली गरेसंगै व्यवसाय दर्ताका लागि चेतावनी सहितको आवह्वान गर्नु भएको हो । प्रमुख प्रशासकीय अधिकृत पनेरुका अनुसार व्यवसाय दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,प्रचलित कानुन बमोजिम सम्वन्धित निकायबाट व्यवसाय दर्ता र इजाजत प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि,गैर नेपाली नागरिकको हकमा सम्वन्धित देशको नागरिकता वा नागरिकता जनिने प्रमाणपत्रको प्रतिलिपि,सम्वन्धित वडा कार्यालयको सिफारिस वा सर्जमिन मुचुल्का,व्यवसाय सञ्चालन रहेको अवधि खुल्ने कागजतहरु(घरभाडा,पानी बिजुली तिरेको रसिद,कर कार्यालयमा कर बुझाएको रसिद वा अन्य यस्तै कागजतहरु),व्यवसाय सञ्चालन रहेको स्थलको घर आफ्नै रहेको धनीपूर्जा वा सम्पत्ति करि तिरेको रसिद वा भाडामा भए वहाल सम्झौता प्रतिलिपि र सञ्चालकको दुईप्रति फोटो संलग्न राख्नुपर्ने नगरपालिकाले जनाएको छ ।
फुङलिङ नगरपालिकाले बैशाख १० गतेको मितिले १५ दिन भित्र निबेदन पेश नगरी सञ्चालन हुने व्यवसायलाई नगरपालिकाको व्यवसाय कर सम्वन्धी निर्देशिका २०७८ को दफा १६ बमोजिम निजलाई कार्यालयबाट फिर्ता गर्नुपर्ने रकम भए त्यसमा करकट्टी गरेर वा नेपाल सरकार,प्रदेश सरकार वा नगरपालिका वा सरकारी स्वामित्वका संघसंस्थाबाट करदाताले पाउने रकमबाट करकट्टी गर्न लगाएर वा बैंक वा बित्तीय संस्थामा रहेको करदाताको रकमबाट कट्टी गर्न लगाएर वा करदाताको कारोवार रोक्का गरेर वा करदाताको चल अचल सम्पत्ति दावी वा रोक्का गरेर वा करदाताको सम्पत्ति एकैपटक वा पटक–पटक गरी लिलाम बिक्री गरेर निजबाट लिनुपर्ने व्यिवसाय कर असुल उपर गरी सोहि निर्देशिकाको दफा ३ को उपदफा(५)बमोजिम व्यवसाय बन्दको कारवाही समेत गर्न सकिने सूचना जारी गरेको छ ।