पुस २८ बाट चाँगेमा आँपपानी युवा क्लवले आयोजना गर्ने फुटबल प्रतियोगितामा ८ टिम सहभागी हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २६ । माघेनी मेलाको अवसरमा ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ४स्थित आँपपानी युवा क्लवले आयोजना गर्ने अन्तर क्लव स्तरीय पुरुष गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङ्गो लागेको छ ।

आयोजक आँपपानी युवा क्लवले शनिवार अपरान्ह पत्रकार सम्मेलनमार्फत ति खेलमा सहभागी हुने टिमका बारेमा जानकारी दिएको हो । क्लवका कोषाध्यक्ष लोकेन वनेमका अनुसार गोल्डकपमा आयोजकको एक सहित ताप्लेजुङ जिल्लाका ८ टिम सहभागी हुनेछन् । उहाँका अनुसार गोल्डकपमा मैवाखोला गाउँपालिका वडा नं १ को लिवर्टी युवा क्लव,मैवाखोला २ को सृजनशील युवा क्लव,मैवाखोला ३ को बुङदाक युवा क्लव र आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ को हाङपाङ युवा समाज सहभागी हुनेछन् । गोल्कपमा फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमको मानाभारा युथ स्पोर्टिङ क्लव,फुङलिङ नगरपालिकाको साथीभाई समाजिक युवा क्लव,मेरिङदेन ६ नाल्बुको ग्रीनभ्याली स्पोर्टिङ क्लव र आयोजक आँपपानी युवा क्लव सहभागी हुनेछन् । क्लवका सचिव हेमन्त लिम्बूका अनुसार प्रतियोगिताका बिजेताले १ लाख १० हजार रुपैयाँ र उपबिजेताले ६० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा म्यान अफ द म्याच सहित बिधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने क्लवले जनाएको छ । क्लवका अध्यक्ष टेकबहादुर लिम्बूका अनुसार बैदेशिक रोजगारीका लागि बिभिन्न मुलुक पुगेका खेलप्रेमी तथा अन्य दाताहरुबाट यो रकम संकलन गरिने भएको छ । यसपटक गाउँपालिका र वडाहरुमा आर्थिक सहयोग नमाग्ने योजना बनाएको कोषाध्यक्ष वनेमले जानकारी दिनुभयो । पुस २८ गते देखि आठराई त्रिबेणी गाउँपालिकाको चाँगे नेसुमस्थित आँपपानी युवा क्लवको खेल मैदानमा गोल्डकप आयोजना हुने क्लवले जानकारी दिएको छ । पर्याप्त तयारीको अभावका कारण यसबर्ष गोल्डकप मात्र सञ्चालन गरिने क्लवका सचिव लिम्बूले जानकारी दिए । अघिल्लो बर्ष भने क्लवले साँस्कृतिक कार्यक्रम सहितका विविध गतिविधि सञ्चालन गरेको थियो ।

Similar Posts