फुङलिङ बजारका पसल तत्काललाई शुक्रबारै बन्द

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १२ । ताप्लेजुङको फुङलिङ बजारमा प्रत्येक साता बन्द हुँदै आएका बजार तथा पसल तत्काललाई साविक झैं साप्ताहिक रुपमा शुक्रवार नै बन्द हुने भएका छन् ।

सरकारले शनिवार र आइतवार दुईदिन बिदा दिँदा यसअघि शुक्रवार बन्द हुँदै आएका फुङलिङ बजारका पसलहरु शुक्रवारको सट्टा आइतवार बन्द गर्ने की भन्ने बिषयमा ताप्लेजुङ उद्योग वाणिज्य संघको बैठकमा छलफल भएको थियो । ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमका अनुसार सरकारले पेट्रोलियम पदार्थको अभाव र आपूर्ति समस्याका कारण तत्कालका लागि मात्र सातामा दुईदिन शनिवार र आइतवार बिदा दिने निर्णय गरेकोले वाणिज्य संघले पनि सरकारको तत्कालको निर्णयका आधारमा साविककै निर्णय कायम राखेको हो ।

सरकारले शनिवार र आइतवार बिदा हुने स्थायी निर्णय गरेको खण्डमा आफुहरुले पुरानो निर्णय कायम गरी शुक्रवारकै बन्द कायम राख्ने वा आइतवार बन्द गर्ने बिषयमा थप छलफल पछि आवश्यक निर्णय लिने सहमति कायम भएको गौतमले जानकारी दिनुभयो । ताप्लेजुङ उद्योग वाणिज्य संघले प्रत्येक साताको शुक्रवार बन्द गर्ने वा नगर्ने बिषयको निर्णय मतदानद्धारा टुङ्गाएको थियो । मतदानका क्रममा अधिक सदस्यले प्रत्येक शुक्रवार फुङलिङ बजारका व्यवसाय बन्द गर्ने पक्षमा मत दिएपछि करिव दुई दशक देखि फुङलिङ बजारका पसलहरु प्रत्येक शुक्रवार बन्द हुँदै आएका छन् ।

Similar Posts