मामाङ्खे–याङपाङ सडक कालोपत्रे गर्ने काम सुरु,करिव ६ सय मिटर सडक कालोपत्रे भयो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १२ । ताप्लेजुङका ६१ वटा वडामध्ये सडक सञ्जालले सबैभन्दा पछि जोडिएको सिरिजङ्गा गाउँपालिका वडा नं ६ मामाङ्खे क्षेत्रमा सडक पक्की हुन थालेको छ ।
मामाङ्खेको खाक्सेवादेखि पेदाङको याङपाङसम्म आइपुग्ने साढेसात किलोमिटर सडक कालोपत्रे हुन थालेको हो । सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले मामाङ्खेको खाक्सेवादेखि सडक कालोपत्रे गर्ने कार्य सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले करिव ६ सय मिटर सडक कालोपत्रे भइसकेको छ । सिरिजङ्गा गाउँपालिकाको पेदाङ याङपाङबाट मामाङ्खे सम्म पुग्ने सडक कालोपत्रे गर्ने योजना रहेको छ ।‘मामाङ्खेबाट काम सुरु भएको छ,पहिलो चरणमा खाक्सेवादेखि फुम्फेडाँडा सम्मको सडक कालोपत्रे गर्ने योजना रहेछ’उपाध्यक्ष मावोले भन्नुभयो ।
रौताहा–सेवालुङ जेभीले भ्याट र पिएस सहित करिव ५६ करोड रुपैयाँमा उक्त सडक निर्माणको जिम्मेवारी पाएको हो । रौताहा–सेवालुङ जेभीका कम्पनी प्रतिनिधि तथा सेवालुङ निर्माण सेवाका प्रोपाइटर जसबहादुर चेम्जोङ लिम्बूले कालोपत्रेको काम धमाधम सुरु भएको बताउनुभयो । ढल निकास सहितका सबै काम पूरा भएकोले करिव एक किलोमिटर कालोपत्रे गरिसक्दा कुल कामको झण्डै ८५ प्रतिशत काम पूरा हुने लिम्बूले जानकारी दिनुभयो ।
‘हिउँदे पानी सम्मले काममा असर ग¥यो,तर काममा तीव्रता छ’निर्माण व्यवसायी लिम्बूले भन्नुभयो । उहाँले गत असोज महिनामा आएको बाढी पहिरोको प्रकोप,त्यसपछि बिभिन्न आन्दोलनका कारण भएका बन्द हड्तालका कार्यक्रम सहितले सडक निर्माणमा असर पुगेको बताउनुभयो । ताप्लेजुङका ६१ वटा वडामध्ये मामाङ्खे सबैभन्दा पछि सडक सञ्जालले जोडिएको थियो । अहिले ताप्लेजुङ सदरमुकाम बाहिरका कुनैपनि सडक कालोपत्रे छैनन् । आठराई त्रिबेणी गाउँपालिकाले पालिका आसपासको करिव ५ सय मिटर सडक कालोपत्रे गर्ने तयारी गरेको छ भने मेरिङदेन गाउँपालिकाले दोभानबाट पालिकाको केन्द्र सुलुम्फी सम्मको सडक कालोपत्रे गर्नेगरि प्रकृया अघि बढाईरहेको छ ।