केत्तकुम लिबाङ पाङ्पत सयङद्धारा एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १९ । केत्तकुम लिबाङ पाङ्पत सयङले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेको छ । काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजित वेबसाइट विमोचन, शैक्षिक अक्षयकोष घोषणा तथा विद्यार्थी सम्मान कार्यक्रममा सयङले अक्षयकोष स्थापनाको औपचारिक घोषणा गरिएको हो ।

आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै जेहन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीको उच्च शिक्षा, अनुसन्धान र सीप विकासमा सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको सयङका अध्यक्ष लोकेश लिबाङले बताउनुभयो । उहाँका अनुसार पाङ्पत लिबाङ वंशका सदस्यहरूको योगदानबाट अभियान अघि बढाइएको हो । अक्षयकोषबाट छात्रवृत्ति प्रदान गर्नुका साथै उच्च शिक्षा, अनुसन्धान, सीपमूलक तालिम, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना र आवश्यक शैक्षिक स्रोतसामग्रीमा सहयोग गर्ने योजना रहेको सयङले जनाएको छ ।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा ३.७० जीपीए प्राप्त गर्ने मिक्वाखोला गाउँपालिका–३, लिबाङ, ताप्लेजुङकी श्रुती लिम्बू,३.५० जीपीए प्राप्त गर्ने सोही स्थानका कमलकुमार लिम्बू र ३.४० जीपीए प्राप्त गर्ने चैनपुर, संखुवासभाकी वर्षा लिम्बू रहनु भएको छ । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ले जनही १० हजार रुपैयाँ नगद, प्रशंसापत्र र दोसल्लासहित सम्मान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै बैरागी काइँलाले शैक्षिक अक्षयकोष, विद्यार्थी सम्मान र वेबसाइट विमोचनजस्ता रचनात्मक कार्य महत्वपूर्ण रहेको बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह बढाउनुका साथै शिक्षा र ज्ञान आर्जनमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।

सोही अवसरमा सयङको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको थियो। वेबसाइटमा संस्थाको इतिहास, वंशीय विवरण, संस्थागत संरचना, गतिविधि, शैक्षिक अभियान तथा भावी योजनालाई डिजिटल रूपमा अभिलेखीकरण गरिएको सयङले जनाएको छ । सयङले अक्षयकोषलाई आगामी दिनमा थप विस्तार गरी योग्य तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई निरन्तर सहयोग गर्ने जनाएको छ । साथै नेपाल तथा विदेशमा रहेका पाङ्पत लिबाङ वंशका सदस्य, शुभेच्छुक तथा सहयोगीलाई अभियानमा जोडिन आह्वान गरेको छ ।

 

Similar Posts