प्रतिभा पहिचान तथा खेल क्षेत्रलाई एकीकृत गर्न आठराई त्रिबेणीमा वडादेखि पालिकासम्मको खेल संरचना बनाइने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १२ । पालिका क्षेत्रमा भएका खेल प्रतिभाको पहिचान तथा खेल क्षेत्रलाई एकीकृत तथा व्यवस्थित गर्न ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले वडा स्तरसम्म खेलकुद समिति गठन गर्ने प्रावधान ल्याएको छ ।
पालिकाले खेलकुद सञ्चालन कार्यविधिमार्फत खेल क्षेत्रको संस्थागत र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको हो । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार खेलकुदका माध्यमबाट पालिकाको कला,संस्कृतिको संरक्षण र जर्गेना समेतमा सघाउ पुग्ने अपेक्षाका साथ संस्थागत अभियान थालिएको हो । उहाँका अनुसार खेलकुदको संस्थागत विकास,खेल प्रतिभाको पहिचान,पहिचान भएका प्रतिभाको खेल कौशलमा बृद्धि, खेलाडीलाई उचित तालिम तथा प्रशिक्षणको अवसर तथा प्रशिक्षणप्राप्त खेलाडीलाई व्यवसायिक खेल क्षेत्रसंग जोड्ने अभियानका साथ कार्यविधि ल्याईएको हो । यस्तै खेलकुदका माध्यमबाट पालिकावासीहरुमा नागरिक भावना अभिप्रेरित गर्न समेत सहयोग पुग्ने पालिकाको विश्वास रहेको छ ।
कार्यविधि अनुसार पालिका देखि वडा तहसम्म खेलकुदका संस्थागत संरचना हुनेछन् । पालिका तथा वडा स्तरमा गठित खेलकुद समितिले खेलकुद सम्वन्धी नीति तथा कार्यक्रमको बिषयमा सुझाव दिने,समितिको कार्ययोजना र बजेट बनाउने जिम्मेवारी पनि पाउने छन् । यस्तै खेलकुदको स्तरबृद्धि तथा खेलाडी पहिचानका लागि समय–समयमा अन्तरपालिका,पालिका र वडा स्तरीय खेलकुद कार्यक्रम सञ्चालन गर्ने,खेलाडीको क्षमता विकासका लागि प्रदेश तथा जिल्ला स्तरीय प्रशिक्षकहरुबाट प्रशिक्षणको व्यवस्था मिलाउने,पालि तथा वडा स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने,अन्य पालिकाले आमन्त्रण गरेका प्रतियोगितामा सहभागिताका लागि खेलाडी तयार गर्ने र खेलाडीको जीवनस्तर उठाउन र मनोवल बढाउन सक्रियतापूर्वक कार्य सम्पादन गर्ने जिम्मेवारी पाउनेछन् । पालिकाको सामाजिक विकास समितिका संयोजक अध्यक्ष रहने पालिका स्तरीय खेलकुद विकास समितिमा अध्यक्षको सिफारिस तथा गाउँपालिकाको निर्णय अनुसार मनोनित हुने पालिकावासी उपाध्यक्ष रहनु हुने छ ।
खेल जगत्मा महत्वपूर्ण योगदान पु¥याएकामध्येबाट पालिका अध्यक्षले मनोनित गर्ने पालिका भित्रका २ जना सदस्य,वडा स्तरीय खेलकुद विकास समितिका ५ जना संयोजक सदस्य र फरक–फरक बिधाका खेल जगत्मा अनुभव प्राप्त गरेका कम्तिमा एक महिला सहित ४ जना सदस्य रहनेगरी पालिका स्तरीय खेलकुद विकास समिति गठन हुने छ । पालिकाका कर्मचारीमध्येबाट कार्यपालिकाको निर्णयबाट जिम्मेवारी प्रदान हुनेगरी सदस्य सचिव तोकिने कार्यविधिमा उल्लेख गरिएको छ । वडास्थित खेलप्रेमीबाट वडा समितिले मनोनित गर्ने सम्वन्धित वडा क्षेत्रको खेलप्रेमी नागरिक अध्यक्ष रहेको वडा स्तरीय खेलकुद विकास समिति पनि गठन गरिने भएको छ । वडा स्तरीय समितिमा वडा स्तरीय क्लव,संस्था तथा बिषयगत क्षेत्रको प्रतिनिधित्व हुनेगरी एक महिला सहित वडा समितिले मनोनित गरेका तीनजना सदस्य हुनुहुने छ ।
वडा स्तरीय खेलकुद विकास समितिको सदस्य सचिवमा समितिका अध्यक्षको सिफारिसमा सम्वन्धित वडाध्यक्षबाट मनोनित व्यक्तिलाई सदस्य सचिवको जिम्मेवारी दिइने कार्यविधिमा उल्लेख गरिएको छ । पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत र गाउँ कार्यपालिकाका सदस्यमध्येबाट कम्तिमा एक महिला सहित पालिका अध्यक्षबाट मनोनित दुईजना सदस्य पालिका स्तरीय समितिको अनुगमन तथा संरक्षक समिति बन्ने छ । सम्वन्धित वडाको वडाध्यक्ष संयोजक रहनेगरी वडा स्तरमा समेत वडा स्तरीय खेलकुद विकास समितिको अनुगमन तथा संरक्षक समिति बन्ने कार्यविधिमा उल्लेख गरिएको छ ।