ताप्लेजुङ जिल्ला अदालतद्धारा लक्ष्य भन्दा ५ प्रतिशत बढी मुद्दा फर्स्योट,५५ प्रतिशत मुद्दा सम्वन्ध बिच्छेदका
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३२ । ताप्लेजुङ जिल्ला अदालतले लक्ष्यको तुलनामा ५ प्रतिशत भन्दा बढी मुद्दा फर्स्योट गरेको छ । जिल्ला अदालतले बिहीबार पत्रकार भेटघाट कार्यक्रममार्फत आफ्नो प्रगति विवरण सार्वजनिक गरेको हो ।
जिल्ला न्यायाधीस विकास श्रेष्ठको उपस्थितिमा जिल्ला अदालतमा श्रेष्तेदार शम्मी कपुर शाहले विवरण सार्वजनिक गर्दै जेन जी आन्दोलन र प्रतिनिधिसभा निर्वाचनका कारण मुद्दाको फर्स्योटमा प्रभाव परेपनि लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट भएको जानकारी दिनुभयो । शाहका अनुसार अदालतले आर्थिक बर्ष २०८२।८३ मा ६८ प्रतिशत मुद्दा फर्स्योट गर्ने लक्ष्य राखेकोमा ७३.०५ प्रतिशत मुद्दा फर्स्योट भएको छ । श्रेष्तेदार शाहका अनुसार आव २०८१।८२ बाट जिम्मेवारी सरी आएका र नयाँ लगतको रुपमा दर्ता भएका गरी अदालतमा आव २०८२।८३ मा ५ सय ७९ थान मुद्दा रहेकोमा ४ सय २३ थान मुद्दा फर्स्योट भएको छ ।
१ सय ५६ थान मुद्दा आव २०८३।८४ का लागि जिम्मेवारी सरी आएको ताप्लेजुङ जिल्ला अदालतका सूचना अधिकारी तथा तहशिलदार सागर भण्डारीले जानकारी दिनुभयो । आव २०८१।८२ बाट जिम्मेवारी सरी आएका १ सय ५९ मध्ये अदालतले १ सय ३७ थान तथा नयाँ लगतको रुपमा दर्ता भएका ४ सय २० थान मध्ये २ सय ८६ थान मुद्दा अदालतले फर्स्योट गरेको जनाएको छ । भण्डारीका अनुसार अदालतमा दुईबर्ष अघि देखि दुईबर्ष अवधि नाघेका मुद्दाको संख्या शुन्य रहेको छ ।
अदालतमा अब ६ महिना भित्रका ८९ थान,६ महिना देखि एकबर्ष भित्रका ४५ थान,एकबर्ष देखि १८ महिना भित्रका २१ थान र १८ महिना देखि २ बर्ष भित्रका १ थान मुद्दा जिम्मेवारीको रुपमा रहेका छन् । जिल्ला न्यायाधीस श्रेष्ठले फैसला कार्यान्वयनतर्फ कैद र जरीवाना असुलीमा भने अपेक्षाकृत प्रगति हाँसिल हुन नसकेको जानकारी दिनुभयो ।‘हाम्रो जिम्मेवारी ८० प्रतिशत भन्दा बढी रहने कार्यमा ६५.७१ प्रतिशत प्रगति भएको छ,यो राम्रो पक्ष हो,कैद र जरीवाना असुलीतर्फ भने अपेक्षा अनुसार प्रगति हाँसिल हुन सकेन’न्यायाधीस श्रेष्ठले भन्नुभयो ।
श्रेष्तेदार शाहका अनुसार फैसला कार्यान्वयनको निबेदनतर्फ १ सय ५ वटा गलतमध्ये ६९ वटा फर्स्योट भएको छ । ३६ वटा फर्स्योट गर्न बाँकी रहेको र उक्तमध्ये २२ वटा ६ महिना नाघेको रहेको समेत अदालतले जानकारी दिएको छ । कैदतर्फ १ हजार ५ सय २६ बर्ष ४ महिना ८ दिन लगत रहेकोमा आव २०८२।८३ मा ४ सय ६ बर्ष ६ महिना १ दिन फर्स्योट भई १ हजार १ सय १९ बर्ष १० महिना ७ दिन बाँकी रहेको अदालतले जानकारी दिएको छ । जरीवानातर्फ ४ करोड ६६ लाख ७६ हजार ७ सय ८१ रुपैयाँ लगत रहेकोमा १ करोड ११ लाख ७९ हजार ३ सय १ रुपैयाँ फर्स्योट भई ३ करोड ५४ लाख ९७ हजार ४ सय ८० रुपैयाँ बाँकी रहेको देखिएको छ ।
५५ प्रतिशत बढी मुद्दा सम्वन्ध बिच्छेदका
अदालतमा रहेका ५ सय ७९ थान मुद्दामध्ये ३ सय १९ थान मुद्दा सम्वन्ध बिच्छेदका देखिएका छन् । अदालतका सूचना अधिकारी भण्डारीका अनुसार २ सय ६४ थान सम्वन्ध बिच्छेदका मुद्दा अदालतले फर्स्योट गरेको छ भने ५५ थान मुद्दा आव २०८३।८४ का लागि जिम्मेवारी सरी आएका छन् । अदालतमा रहेका कूल मुद्दामध्ये ५५.०९ प्रतिशत मुद्दा सम्वन्ध बिच्छेदका रहेका छन् । जबरजस्ति करणीका ३६ थान मुद्दा रहेकोमा २८ वटा फर्स्योट भई ८ वटा आव २०८३।८४ का लागि जिम्मेवारी सरी आएको अदालतले जनाएको छ ।