शनिवार साँझ वीरेन्द्र चौकमा भएको घटना दुःखद्: ताप्लेजुङ उद्योग वाणिज्य संघ

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ११ । ताप्लेजुङ उद्योग वाणिज्य संघले शनिवार साँझ ‘नो केवलकार पक्षधर’द्धारा आयोजना गरिएको मसाल जुलुसका क्रममा वीरेन्द्रचौकमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बूद्धारा आइतवार अपरान्ह जारी विज्ञप्तिमा बिरोध गर्ने क्रममा उद्योगी व्यवसायीको घरमा मसाल फाल्ने कार्य नीन्दनीय भएको उल्लेख गरिएको छ । निजी क्षेत्रलाई सहज वातावरण सृजना गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण बनाईदिन आग्रह गर्दै वाणिज्य संघले दुबै पक्षलाई संयमित र अनुशासित भइदिन आग्रह गरेको छ ।

जिल्लाको आर्थिक,सामाजिक र साँस्कृतिक मुद्दाप्रति निजी क्षेत्र सम्बेदनशील भएको उल्लेख गर्दै विज्ञप्तिमार्फत ताप्लेजुङ उद्योग बाणिज्य संघले लगानीमैत्री वातावरण तयार गरी निजी क्षेत्रलाई असल व्यवसायिक वातावरण निर्माण गरिदिन सम्वन्धित पक्षलाई आग्रह गरेको छ ।

पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्ने सन्दर्भमा विगत देखि नै भइरहेका पक्ष र विपक्षका परिघटनाले ताप्लेजुङ जिल्लाको सामाजिक अवस्था गम्भिर मोडमा पुगेको निश्कर्ष समेत वाणिज्य संघको छ । बार्ता र सम्बादबाट सहमतिमा पुगी शान्त वातावरण बनाउन वाणिज्य संघले सबैलाई आग्रह गरेको छ ।

 

Similar Posts