ताप्लेजुङमा सञ्चालित आँखा उपचार केन्द्रबाट एकबर्षमा झण्डै १८ हजारले लिए सेवा,३४२ जनाको आँखाको शल्यकृया

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १९ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ तथा संघको समन्वयमा सञ्चालित आँखा उपचार केन्द्रमार्फत एक आर्थिक बर्षको अवधिमा झण्डै १८ हजार आँखाका रोगीले सेवा पाएका छन् ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ भने मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगम स्थल दोभान बजारमा दोभान आँखा उपचार केन्द्र सञ्चालनमा छ । दोभान आँखा उपचार केन्द्रका लागि पछिल्लो समय मेरिङदेन गाउँपालिकाले आर्थिक साझेदारी गरेको छ । सञ्चालन सुरुवातका केहि बर्षसम्म आठराई त्रिबेणी गाउँपालिकाले समेत आर्थिक साझेदारी गरेको थियो । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङका अनुुसार क्लिनिकमा आर्थिक बर्ष २०८२।८३ मा मा ७ हजार १ सय ७५ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् । गुरुङका अनुसार परीक्षण तथा उपचार गराउनेमा २ हजार ८ सय ३० पुरुष,३ हजार ३ सय १८ महिला,५ सय ४३ बालक र ४ सय ८४ बालिका रहेका छन् ।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका प्राविधिकहरुद्धारा जिल्लाभरका ४५ वटा बिद्यालयमा गरिएको बिद्यालय स्तरीय आँखा जाँच तथा उपचार कार्यक्रममा ५ हजार ९ सय २५ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको छ । त्यसमध्ये ३ हजार ९९ बालक र २ हजार ८ सय ७ बालिका रहेका छन् । यहाँका ९ स्थानीय तहका विभिन्न ८ वटा स्थानमा ५ सय ८६ पुरुष र ६ सय ८६ महिला गरी कुल १ हजार २ सय ७४ जना सेवाग्राहीले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् । विभिन्न ३ स्थानमा गरिएको आँखा स्वास्थ्य शिविरमार्फत २ हजार ७ सय ६४ जनाको आँखाको परीक्षण गरिएको छ । शिविरमा १ हजार ४ सय ९० पुरुष र १ हजार २ सय ७४ महिला सेवाग्राही रहेको समेत गुरुङले जानकारी दिनुभयो । एक आर्थिक बर्षको अवधिमा ३ सय ४२ जनाको आँखाको शल्यकृया गरिएको छ । शल्यकृया गरिएकामध्ये ३ सय ९ जनाको मोतियाबिन्दुको र ३३ जनाको आँखाको साधारण शल्यकृया गरिएको समेत गुरुङले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङमार्फत एक आर्थिक बर्षको अवधिमा यहाँका विभिन्न स्थानीय तहका ७७ जनालाई प्राथमिक आँखा स्वास्थ्य सेवा सम्वन्धी अनुशिक्षण गराईएको छ । गुरुङका अनुसार ४२ जना महिला स्वास्थ्य स्वयंसेविका,आमा समूहमा आवद्ध १७ जना,१६ जना स्थानीय क्षेत्रका अगुवा र १२ जना शिक्षक रहेका गुरुङले बताउनुभयो । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले तिलगंगा आँखा अस्पताल,बिराटनगर आँखा अस्पताल,मेची आँखा अस्पताल र रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटा सहित निकायसंग शल्यकृया शिविरका लागि प्राविधिक सहयोग लिदैं आएको छ । सुरुमा लुम्बिनी रण अम्विका आँखा अस्पताल,चितवन आँखा अस्पताल सहितका निकायले प्राविधिक सहयोग गर्दै आएका थिए । नेपाल नेत्रज्योति संघ ताप्लेजुङलाई शल्यकृया सहितको शिविर सञ्चालनका लागि सेवा फाउण्डेसन र यहाँका स्थानीय तहले समेत आर्थिक साझेदारी गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङको समन्वय र सम्वन्धित स्थानीय तहको आर्थिक साझेदारीमा पाँचथरको थर्पु र यासोकमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा छन् । थर्पुस्थित आँखा उपचार केन्द्रका लागि याङवरक गाउँपालिका र यासोकमा रहेको आँखा उपचार केन्द्रका लागि कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारी रहेको छ । पछिल्लो समयमा थर्पु र यासोकमा सञ्चालित आँखा उपचार केन्द्रको नियमन सम्वन्धित स्थानीय तहले नै गर्दै आइरहेका छन् । दोभानमा रहेको आँखा उपचार केन्द्रको सञ्चाल तथा व्यवस्थापनका लागि मेरिङदेन गाउँपालिकाको अगुवाईमा स्थानीय व्यवस्थापन समिति गठन भई सञ्चालनमा रहेको छ । दोभान आँखा उपचार केन्द्रबाट भने एक आर्थिक बर्षमा झण्डै १ हजार जना नागरिकले परीक्षण तथा उपचारको सेवा लिएको दोभान आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज सृजना चौधरीले जानकारी दिनुभयो ।

Similar Posts