पर्यटकीय रोजाईको केन्द्र बन्दै मेरिङदेन झरना

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ६ । नजिकमा रहेको सिप्लक खोला । अनि छाँगाबाट झरेको पानीबाट सृजित छाँगा खोला । यहीबिचमा रहेको सुन्दर झरनाको नाम हो,मेरिङदेन झरना ।
मेरिङदेन गाउँपालिकाको वडा नं १ थिङ्लाबुलाई मुख्य आवरणमा राखी मैवाखोला गाउँपालिकाको वडा नं ६ फाकुम्बा साम्तुङको सीमा क्षेत्रमा रहेको मेरिङदेन झरनाबाट माघ महिनाको पहिलो सातापनि अटुट र छङछङ पानी झरिरहेको छ । वारिपट्टी थिङलाबु तथा छाँगाखोला र सिप्लक खोला पार गरेपछि पारीपट्टि पुगिने ठाउँ मैवाखोलाको साम्तुङ । झरनाको अवलोकनका लागि पुगेका पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य पानी नपरेको समय र सुख्खा महिना माघमा समेत झरनामा देखिएको पानीको मात्राले मेरिङदेन झरना सुन्दर र आर्कषक रहेको स्वःपुष्टी हुने बताउँनुहुन्छ ।
‘झरना त यस्तो पो त भन्ने नै अवस्था नै देखियो’फुङलिङबाट झरनाको अवलोकनका लागि पुग्नु भएका डिल्लीरमण पौडेलले यस्तो प्रतिक्रिया दिनुभयो । मेरिङदेन झरनाको अर्को बिशेषता पनि छ । एक काम दुई पन्थ भने झैं मेरिङदेन झरना दुईवटा झरनाको संगम बनेको छ । माथितिर एउटा र तलतिर अर्को । एउटै गन्तव्यबाट दुईवटा झरनाको अवलोकन हुने भएपछि मेरिङदेन झरना अहिले अवलोकनकर्ताहरुका लागि भने आर्कषणको केन्द्र बन्दै गएको छ ।
मेरिङदेन गाउँपालिका वडा नं १ थिङलाबुका शिशिर लिम्बू झरना जाने पाहुनाहरुको साथमा लागेर धेरैपटक मेरिङदेन झरना पुग्नु भएको छ ।‘पहिला त त्यति मान्छे आउँदैन थिए,अहिले त झरना हेर्न आउने मानिसहरु थुप्रै हुन्छन्’शिशिरले आफ्नै शैलीमा भन्नुभयो । झरनास्थल पुग्न करिव दुईघण्टाको पैदल मार्ग प्रयोग गर्नुपर्छ । थिङलाबुको लेचुवा र मैवाखोलाको सामतुङ दुबैतर्फबाट झरनास्थल पुग्न सकिन्छ । पैदलमार्ग केहि मर्मतसम्भार गर्नुपर्ने अवस्था भएपनि छोटो मार्ग भएकोले थिङलाबुको लेचुवाबाट अवलोकनकर्ताहरु ठूलो संख्यामा झरना हेर्न जाने गरेको थिङलाबु लेचुवाका गजेन्द्र एभेङ बताउँनुहुन्छ । यो साल मात्र समूहमा निकै मानिसहरु मेरिङदेन झरना पुगिसकेको उहाँले जानकारी दिनुभयो । झरनास्थल जानेहरु प्राय लेचुवामा बास बसेर भोलिपल्ट बिहान अवलोकनका लागि जाने गरेको उहाँको भनाई रहेको छ ।
झरनाको अवस्था र अवलोकनकर्ताहरुलाई झरनाप्रतिको आकर्षण बढाउन लागि पर्नु भएका स्थानीय सूर्यमान ओख्राबु मेरिङदेन झरना अर्गानिक स्थल र मनोरमको केन्द्र रहेको बताउँनुहुन्छ । लेचुवातर्फबाट झरनास्थल लाग्दा देखिने प्राकृतिक बनावट,भेडीगोठ तथा बस्तुभाउ खर्क,स्थानीय गाउँले परिवेश त्यहाँका बिशेषता रहेको ओख्राबुले बताउनुभयो । एकडाँडो काटेर माथिबाट हेर्दा देखिने जोरढुङ्गा,लुम्बासुम्बा हिमाल,भीरमा मौरीको गोदामस्थल झैं देखिने भीर मौरीको घार,बहुमूल्य वन्यजीवहरुको क्रिडास्थलकोबिचबाट पुगिने झरनास्थल साँच्चै आकर्षक र मनमोहक रहेको अनुभव बटुल्नुभयो पत्रकार आनन्द गौतमले । भन्नुहुन्छ‘पूर्वाधार र घरवास केन्द्र व्यवस्थापन गर्न सके मेरिङदेन झरनाको भविष्य निकै सुन्दर छ’ ।
मेरिङदेन गाउँपालिका वडा नं १ थिङलाबुका वडाध्यक्ष सबिनकुमार चोङवाङ मेरिङदेन झरनालाई प्रमुख पर्यटकिय स्थल बनाउने कुरामा संघीय र प्रदेश सरकारले समेत सहयोग गर्ने विश्वास व्यक्त गर्नुहुन्छ । ‘वडा र पालिकाकोतर्फबाट गर्ने बिषय हामी गर्छौ,तर यसको वृहत्तर विकासमा हाम्रो मात्र पर्यत्न प्रर्याप्त हुँदैन’वडाध्यक्ष चोङवाङले भन्नुभयो‘यसको महत्व बुझेर संघीय र प्रदेश सरकारबाट समेत सहयोग प्राप्त भएमा मेरिङदेन झरना पर्यटकको रोजाईको केन्द्र बन्ने छ’ । मेरिङदेन झरनाका लागि पदमार्गको व्यवस्थापन गर्नु,व्यवस्थित होटल तथा घरवास केन्द्र(होमस्टे) व्यवस्थापन गर्नु,झरना आसपासमा पर्यटकका लागि चाहिने आवश्यक पूर्वाधार बनाउनु प्रमुख आवश्यकता रहेको वडाध्यक्ष चोङवाङको भनाई छ । मेरिङदेन झरना पर्यटकका लागि रोजाईको केन्द्र बन्नेमा दुईमत नरहेको पर्यटकिय स्थलहरुको प्रचार र प्रवद्र्धनमा सक्रिय हेमराज निरौला बताउँनुहुन्छ ।