सिकैचाको उपनिर्वाचन: एमालेको प्राथमिकतामा पुरानै उम्मेदवार,काँग्रेस,माओवादी र राश्वपा आन्तरिक छलफलमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

नेपाली काँग्रेसले पनि आन्तरिक तयारी थालेको छ । वडा तह र पालिका कमिटीले यसको गृहकार्य गरिरहेको संकेत गर्दै जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले जिल्ला कार्य समितिमा भने उम्मेदवार चयनको बिषयमा खास एजेण्डागत छलफल नभएको बताउनुभयो । वडा र पालिकाको राय बुझ्ने र जिल्ला तहमा पनि छलफल सुरु गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

२०७९ सालको निर्वाचनमा तीन मतान्तरले पराजित भएको एमालेले वडा तहको छलफल थालेको छ । ‘सबैको राय बुझ्न थालिएको छ,अब वडा तहको छलफल पछि सायद सम्भावित नाम तय होला’एमाले जिल्ला सचिव सन्तोष चाम्लिङले भन्नुभयो । एमाले जिल्ला उपाध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले यसअघि वडाध्यक्षका प्रत्यासी कुमारी साउदेन पहिलो प्राथमितामा रहने संकेत गर्नुभयो ।‘अरु साथीहरु पनि आकाँक्षी हुनुहुन्छ,उम्मेदवार बारे अन्तिम टुङ्गोमा पुगिएको छैन,गठबन्धको समयमा पनि झिनो मतान्तरले पराजित भएको उम्मेदवारलाई मौका दिनुपर्ने राय पार्टीमा बलियो छ’पोमूले साउदेन उम्मेदवार बन्ने प्राथमिकतामा रहेको यसरी खुलाउनुभयो । उहाँले वडा हुँदै पालिकामार्फत उम्मेदवारको अन्तिम निर्णय जिल्ला कमिटीले गर्ने जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका सिरिजङ्गा गाउँपालिका कमिटी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावोले सिकैचाको वडाध्यक्ष उम्मेदवारका लागि आन्तरिक छलफल सुरु भएपनि निश्कर्षमा नपुगेको जानकारी दिनुभयो ।‘अहिले गठबन्धनको कुरा छैन,हाम्रो उम्मेदवार हुन्छ,तर को हुन्छ भन्ने बिषय छलफलकै क्रममा छ’मावोले भन्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठले आफ्नोतर्फबाट सिकैचाको वडाध्यक्षका लागि उम्मेदवारी रहने वा नरहने बिषयमा छलफल थालिएको बताउनुभयो ।‘यो बिषय छलफलकै क्रममा छ,उम्मेदवार बारे जिल्ला र पालिका तहको कमिटीबिच छलफल पछि मात्र निर्णयमा पुगिने छ’श्रेष्ठले भन्नुभयो ।

बैदेशिक रोजगारीमा गई २०८० साल कात्तिक २४ गते देखि वडामा अनुपस्थित रहनु भएका वडाध्यक्ष दिलप्रसाद बोखिमले २०८१ साल असोज १८ गते हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचाको वडाध्यक्षका लागि उपनिर्वाचन गर्न लागेको हो । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज(विपिन)दुलालका अनुसार कुञ्जारी मतदानस्थलमा १ हजार २६ जना र ओसे मतदान स्थलमा ५ सय २ जना गरी सिकैचामा यसपटक कूल १ हजार ५ सय २८ जना मतदाता हुने देखिएको छ । यद्यपी,मतदाताको आधिकारिक तथ्याङ्क भने निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गर्दा मात्र यकिन हुने दुलालले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts