तेल्लोकका पसल व्यवसाय सञ्चालकलाई न्यूनतम् व्यवसायिक मापदण्ड पूरा गर्न अनुगमन समितिले दियो ७ दिनको म्याद

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १७ । एकाध बाहेक ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अधिकाँस पसल व्यवसायले न्यूनतम् व्यवसायिक मापदण्ड पूरा नगरेको देखिएको छ ।

दर्ता तथा नविकरण पूरा भएको,मूल्य सूची ग्राहकले देख्ने ठाउँमा राखी नियमित अद्यावधिक गरिएको,प्रचलित दररेट अनुसार बिक्री गर्ने गरिएको,म्याद गुज्रिएका सामान बिक्री स्थलमा नराखिएको वा विक्री नगरिएको र पसल व्यवसायको संकेत देखिने साइनबोर्ड भएको जस्ता आधारभूत पक्षलाई जिल्ला अनुगमन समितिले न्यूनतम् व्यवसायिक मापदण्डको रुपमा लिई अनुगमन गरेको थियो । तेल्लोकको माथिल्लो बजार र बिशाल बजार क्षेत्रका १९ वटा पसल व्यवसायको अनुगमनका क्रममा कमैले मात्र न्यूनतम् व्यवसायिक मापदण्ड पूरा गरेको देखिएकोले ७ दिनभित्र न्यूनतम् व्यवसायिक मापदण्ड पूरा गर्न निर्देशन दिईएको अनुगमन टोली संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको संयोजन र सिरिजङ्गा गाउँपालिकाको सहकार्यमा शुक्रवार तेल्लोक क्षेत्रका पसल व्यवसायको अनुगमन गरिएको थियो । अनुमगनको क्रममा दर्ता तथा नविकरणमा आउन नसकेका पसल व्यवसाय सञ्चालकलाई ७ दिन भित्र बैधानिक प्रकृया पूरा गर्न निर्देशन दिईएको अनुगमन टोली संयोजक भट्टराईले बताउनुभयो ।

अनुगमन समितिले उपभोग्य म्याद गुज्रिएका केहि परिणामका अखाद्य बस्तु जफत गरी नष्ट गरेको समेत जनाएको छ । जिल्ला अनुगमन समितिले हरेक महिनाको एकदिन फुङलिङ बजार भन्दा बाहिरीका पालिका क्षेत्रका बजारमा रहेका पसल व्यवसायको अनुगमन गर्ने कार्यतालिका बनाएको छ । सोहि अनुसार शुक्रवार तेल्लोक बजारमा रहेका सपल व्यवसायको अनुगमन गरिएको थियो । अनुगमन समितिले ७ दिन बैधानिक प्रकृया(दर्ता तथा नविकरण)सहित न्यूनतम् व्यवसायिक मापदण्डको कार्य पूरा गर्न दिएको निर्देशन पालना भए नभएको बारे अबको १५ दिन भित्र पुर्नअनुगमन गर्ने जनाएको छ । अनुगमन टोलीका सदस्य तथा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन भट्टराईले अनुगमन संगै उपभोक्तालाई उपभोग्य बस्तुको म्याद भए नभएको यकिन गरेर मात्र उपभोग्य बस्तु खरिद गर्न पैरवीको कार्य समेत गरिएको जानकारी दिनुभयो । अनुगमन समितिले बैधानिक प्रकृया पूरा गर्न हदम्याद दिनुका साथै पसल व्यवसाय सञ्चालकलाई उपभोग्य बस्तुको हदम्याद हेरेर मात्र खरिद गरी बिक्री स्थलमा राख्न,हदम्याद सकिएका सामग्री बिक्री कक्षमा नराखी हद म्याद सकिएको संकेत गरी छुट्टै राख्न,प्रचलित दररेट भन्दा बढी मूल्यमा सामान बिक्री नगर्न,मूल्य सूची ग्राहकले देख्नेगरी राखी त्यसको नियमित अद्यावधिक गर्न निर्देश गरेको समेत जनाएको छ ।

Similar Posts