भदौ ५ गते तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना हुने,अब सिरिजङ्गा र सिदिङ्वासीको नागरिकता तेल्लोकबाटै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा भदौ ५ गतेबाट इलाका प्रशासन कार्यालयको सेवा सुरु हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले तेल्लोकमा ५ गते इलाका प्रशासन कार्यालय स्थापना हुने र सोहि दिनदेखि त्यहीबाट नागरिकता सहितका सेवा आरम्भ हुने जानकारी दिनुभयो । सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी इलाका प्रशासन कार्यालय तेल्लोकबाट सेवा प्रवाह हुने छ । प्रजिअ दाहालका अनुसार इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने अघिल्लो दिन भदौ ४ गतेसम्म मात्र जिल्ला प्रशासन कार्यालयले सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका नागरिकलाई नागरिकता बितरण गर्ने छ ।‘इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालयको क्षेत्राधिकार भित्रका नागरिकलाई नागरिकता दिदैनौं’दाहालले भन्नुभयो । उहाँले भदौ ५ गते देखि सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका नागरिकले इलाका प्रशासन कार्यालय तेल्लोकबाटै नागरिकता प्रमाणपत्र लिनुपर्ने जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले सिरिजङ्गा र सिदिङ्वा दुबै गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षसहितका जनप्रतिनिधि,दुबै पालिकाका प्रमुख प्रशासकीय अधिकृत र तेल्लोक र सिनाममा रहेका क्रमशःइलाका प्रहरी कार्यालय,सशस्त्र प्रहरी बेसक्याम्पका सुरक्षा प्रमुखसहित सरोकारवालालाई इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा लागि निम्तो दिएको छ । प्रजिअ दाहालले इलाका प्रशासन कार्यालयमा कम्युटर सहितका प्राविधिक संरचना जडानसहितको कार्य भदौ २ गतेबाट सुरु हुने बताउनुभयो । सरकारले इलाका प्रशासन कार्यालयका लागि शाखा अधिकृत सोसरहका एक सहित छ जनाको दरबन्दी कायम हुनेगरी दरवन्दी तेरिज गरेपनि तत्कालका लागि नायव सुब्बा श्यामलाल पन्थी नेतृत्वमा टोली खटाएको छ । पन्थीसहित नासु गोविन्दप्रसाद अधिकारीलाई इलाका प्रशासन कार्यालयमा खटाएको सरकारले पन्थीलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएर कामकाज गर्न भनेको छ ।

जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि तेल्लोक इलाका प्रशासन कार्यालयमा ४ जना जनशक्ति खटाउने तयारी गरेको छ । हुलाक कार्यालयका एकजना कर्मचारी,कम्युटर अपरेटरको काम गर्नेगरी एकजना कार्यालय सहयोगीलाई कामकाजमा खटाई सेवा सुचारु गर्ने र त्यसपछि क्रमशःव्यवस्थापन गर्दै लैजाने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । नागरिकता प्राप्त गरेका व्यक्तिको विवरण राष्ट्रिय परिचयपत्रका लागि भर्ने व्यवस्थाका बिषयमा समेत छलफल सुरु भएको प्रजिअ दाहालले बताउनुभयो । मतदाता नामावली अद्यावधिक गर्ने(मतदाता नामावलीको ठेगाना सार्ने,सच्याउने र हटाउने)कार्य भदौ १५ गतेसम्म कायम रहेकोले सो अवधिमा इलाका प्रशासन कार्यालय तेल्लोकबाट समेत मतदाता नामावली अद्यावधिक गर्ने गराउने कार्यको प्रवन्धका लागि जिल्ला निर्वाचन कार्यालयलाई आग्रह गरिएको प्रजिअ दाहालले बताउनु भएको छ । अहिले जिल्ला प्रशासन कार्यालयबाट सरदर मासिक रुपमा सिरिजङ्गा गाउँपालिकाका करिव सयजनाले नागरिकताको प्रमाणपत्र लिदैं आएको प्रशासन कार्यालयले बताएको छ ।

Similar Posts