|

फुङ्लिङस्थित ताप्लेजुङ बहुद्देश्य सहकारी संस्था बन्यो जिल्लाकै उत्कृष्ट

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,१५ मंसिर । राष्ट्रिय सहकारी बैंकले ताप्लेजुङको फुङ्लिङस्थित ताप्लेजुङ बहुद्देश्य सहकारी संस्थालाइ उत्कृष्ट सहकारी संस्थाको सम्मान दिएको छ । राष्ट्रिय सहकारी बैंक फिदिम शाखाले सोमवार ताप्लेजुङ बहुद्देश्य सहकारी संस्थाकै कार्यालयमा आएर उसलाइ उत्कृष्टताको सम्मान पत्र बितरण गरेको हो । बैंकका पाँचथर शाखा प्रवन्धक बुद्धराम बल तामाङले बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष टामन सिग्देललाइ सम्मान पत्र हस्तान्तरण गर्नु भएको छ । तामाङका अनुसार ताप्लेजुङ र पाँचथरका एक–एक वटा उत्कृष्ट सहकारी संस्थाले यस्तो सम्मान पाएका हुन् । सहकारी बैंकबाट सहकारी संस्थाले लिएको कर्जा,मौज्दात र शेयर खरिदलाइ उत्कृष्टताको सम्मानका लागि पहिलो आधार बनाइन्छ । यसबाहेक सामाजिक काममा संस्थाको गरेको योगदान,संस्थागत सहयोग र सीपमूलक अभियानमा उसको योगदानलाइ आधार मानेर उत्कृष्ट सहकारी छनौट गरिने राष्ट्रिय सहकारी बैंक फिदिम पाँचथरका कनिष्ठ सहायक ओमप्रकाश मैनालीले बताउनुभयो । पाँचथरमा भने फिदिमस्थित कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट भएको छ । ताप्लेजुङ बहुद्देश्य सहकारी संस्थाले राष्ट्रिय सहकारी बैंकबाट एक करोड २२ लाख रुपैंयाको शेयर खरिद समेत गरेको छ । राष्ट्रिय सहकारी बैंकका फिदिम शाखा प्रवन्धक तामाङले बहुद्देश्य सहकारी संस्थालाइ शेयर धनी प्रमाण पत्र समेत बितरण गर्नु भएको छ । अघिल्लो बर्ष फुङ्लिङस्थित तमोर महिला कृषि सहकारी संस्था भने राष्ट्रिय स्तरमै उत्कृष्ट भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष चित्राकुमारी चंसु लगायतका पदाधिकारी,बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी,बिभिन्न सहकारी संस्थाका अगुवा तथा ताप्लेजुङ बहुद्देश्य सहकारी संस्थाका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts