फुङलिङमा बहुउद्देश्य सभाहल बनाउने गरी प्रारम्भिक छलफल सुरु,सभाहल देखि पार्किङ स्थल सम्मको योजना

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २६ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा बहुउद्देश्य सभाहल बनाउने गरी प्रारम्भिक छलफल सुरु भएको छ ।
प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको अगुवाई तथा जिल्ला समन्वय समिति र फुङलिङ नगरपालिकाका जनप्रतिनिधि तथा अन्य सरोकारवाला कार्यालयका प्रमुखहरुको सहभागितामा प्रारम्भिक छलफल भएको हो । छलफलले आधुनिक,सुबिधा सम्पन्न र बहुउद्देश्य सभाहल बनाउन आवश्यक प्रकृया अघि बढाउने निर्णय लिएको सांसद भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईले २०७४ सालमै यस्तो सभाहल बनाउन प्रस्ताव अघि सार्नु भएको थियो । तर त्यो प्रस्ताव अघि बढ्न पाएन । भट्टराईका अनुसार अहिले जिल्ला समन्वय समिति र फुङलिङ नगरपालिका सहित जिल्लाका सबै स्थानीय तह बहुउद्देश्य सभाहल बनाउने प्रस्ताव अघि बढाउनुपर्ने निश्कर्षमा छन् । सहि उद्देश्य र दीर्घकालिन सोचका साथ बहुउद्देश्य सभाहल बनाउने प्रस्ताव अघि सारिएकोले यसलाई महत्वको योजनाको रुपमा अघि बढाउनुपर्ने भट्टराईको प्रस्ताव छ । अहिले कायम रहेको सामुदायिक भवन,जिल्ला समितिका पदाधिकारी तथा जिल्ला समन्वय अधिकारीले प्रयोग गर्ने निवास क्षेत्र र खाद्य गोदाम रहेको क्षेत्र समेत समेटेर बहुउद्देश्य र बहुआयामिक भवन बनाउन सकिने प्रस्ताव गरिएको छ । यो क्षेत्रमा सबैभन्दा मुनि सवारी पार्किङ,त्यो भन्दा माथिल्लो तल्लामा सामुदायिक भवन,त्यसपछि माथिल्लो तलामा प्रशासकीय भवन र प्रशासकीय आवास क्षेत्र,साना बजार र क्याफ्टएरियाको व्यवस्थापन र अन्य बिविध योजना सञ्चालन गर्न सकिने गरी बहुउद्देश्य सभाहल बनाउन सकिने प्रस्ताव गरिएको छ । यसो भएमा साँघुरो फुङलिङ बजार क्षेत्रको सवारी पार्किङ समस्या धेरै हद सम्म हल हुने र व्यवस्थित रुपमा प्रशासकीय भवनहरु समेत सञ्चालनमा आउने बिश्वास गरिएको छ ।
फुङलिङ नगरप्रमुख अमिर मादेनले योजना अघि बढ्ने बिश्वास राख्दै यो ताप्लेजुङकै महत्व र गरिमाको केन्द्र बन्ने बताउनुभयो । त्यो क्षेत्रको भूगोलको प्रारम्भिक अवस्थाले बहुउद्देश्य सभाहल बनाउन सकिने अवस्था देखाएको र थप प्राविधिक अध्ययन र बृहत्त छलफल गरेर निश्कर्षमा पुग्ने सांसद भट्टराईले बताउनुभयो । उहाँले प्रकृया अघि ढाउन सकिन्छ की सकिदैंन भनेर प्रारम्भिक छलफल भएको र यसबारेमा जिल्लाभरीका स्थानीय तहसहितका सम्वन्धित सबै पक्षसंग बृहत्त छलफलमार्फत योजना अघि बढाउन खाँका तयार हुने समेत जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts