ताप्लेजुङमा २ जनाले लेखे कारागारबाटै एसईई,सम्वन्धित केन्द्रमै उत्तर पुस्तिका जाँचको तयारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १९ । ताप्लेजुङमा जिल्ला कारागारबाट दुईजना परीक्षार्थीले एसईई परीक्षा लेखेका छन् ।
११ केन्द्र मध्ये ४ केन्द्रका परीक्षाको अनुगमन पछि प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले सबै केन्द्रमा एसईई परीक्षा शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको जानकारी दिनुभयो । जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार जिल्ला कारागारमा कैदी बन्दीको रुपमा रहेका एकजनाले नियमित र एकजनाले ग्रेडबृद्धि परीक्षा लेखेका छन् । प्रमुख जिल्ला अधिकारी सेढाँईका अनुसार ताप्लेजुङका सबै केन्द्रमै परीक्षा सकिएका बिषयको उत्तर पुस्तिका परीक्षणको प्रवन्ध गरिएको छ । जिल्ला सुरक्षा समितिले सम्वन्धित केन्द्रका लागि आवश्यक पर्ने सुरक्षा जनशक्ति नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म तथा मातहतका युनिटमार्फत व्यवस्थापन गर्ने भएको छ ।
केन्द्रका केन्द्राध्यक्षले बिषयगत शिक्षक तथा विज्ञहरुको व्यवस्थापन गरी शुक्रबारबाटै उत्तर पुस्तिका परीक्षण गर्ने कार्य सुरु गर्ने तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । गएराति मात्र उत्तर पुस्तिका जाँच कार्यविधि प्राप्त हुन आएको र कार्यविधि प्राप्त भए लगत्तै सबै केन्द्रका केन्द्राध्यक्षसंग सम्पर्क गरी उत्तर पुस्तिका जाँचको आवश्यक तयारी गर्न निर्देशन दिईएको भट्टराईले बताउनुभयो ।
ताप्लेजुङमा मिक्वाखोला र मैवाखोला गाउँपालिकामा केन्द्र छैनन् भने फुङलिङमा ४,सिरिजङ्गामा २,पाथीभरा याङवरक,मेरिङदेन,फक्ताङलुङ,आठराई त्रिबेणी र सिदिङ्वामा एक–एक वटा केन्द्र रहेका छन् । यसबर्ष साविक भन्दा ६ वटा केन्द्र कटौतिमा परेका छन् । यहाँबाट नियमित,प्राविधिक धार र ग्रेडबृद्धि गरी कुल २ हजार ९ जनाले परीक्षा लेख्ने गरी आबेदन दिएकामा कतिपय अनुपस्थित भएको सम्वन्धित केन्द्रका केन्द्राध्यक्षले जनाएका छन् । अनुपस्थित हुनेको विवरण केहि समय पछि प्राप्त हुने शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।