काँग्रेस ताप्लेजुङद्धारा तेम्बाका अग्नि पीडितलाई राहत बितरण
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ९ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा तेम्बाका ६ आगलागी पीडित परिवारलाई नेपाली काँग्रेसले ६९ हजार रुपैयाँ राहत रकम बितरण गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति र मिक्वाखोला गाउँपालिका कार्य समितिको संयोजनमा संकलन भएको उक्त रकम आगलागी पीडित परिवारलाई तेम्बा पुगेर बितरण गरिएको जिल्ला कार्य समिति सभापति गजेन्द्रप्रसाद तुम्याहाङले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागी पीडित ६ परिवारलाई प्रति परिवार ११ हजार ५ सय रुपैयाँका दरले राहत रकम बितरण गरिएको छ ।
यसअघि नेपाली कम्युनिष्ट पार्टीकोतर्फबाट २ लाख १९ हजार ४ सय २४ रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले प्रति परिवार ६ हजार रुपैयाँका दरले राहत रकम बितरण गर्नु भएको छ । जिल्ला रेडक्रस सोसाईटीले खाद्यान्न,भाडावर्तन,लत्ता कपडा सहितका सामग्री बितरण गरेको छ भने इन्द्रबहादुर फाउण्डेसन साँवाकोतर्फबाट आगलागी पीडित परिवारलाई ब्लाङकेट सहितका न्यानो कपडा बितरण गरिएको छ ।