ताप्लेजुङमा फागुन २२ बाट बुस्टर डोज सहितको कोरोना बिरुद्धको खोप लगाइने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १८ । ताप्लेजुङमा फागुन २२ बाट २९ गते सम्म कोरोना बिरुद्धको बुस्टर डोज सहितको खोप अभियान सञ्चालन हुने भएको छ ।

जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बुधवार बसेको बैठकले दुई चरणमा खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले फागुन २२ देखि २६ गते सम्म सात स्थानीय तहमा र फागुन २५ गते देखि २९ गते सम्म दुई स्थानीय तहमा खोप अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार फुङ्लिङ नगरपालिका,मेरिङ्देन गाउँपालिका,पाथीभरा याङ्वरक गाउँपालिका,सिरिजङ्गा गाउँपालिका,सिदिङ्वा गाउँपालिका,फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा फागुन २२ देखि २६ गते सम्म खोप अभियान सञ्चालन हुने छ ।

आठराइ त्रिबेणी र मैवाखोला गाउँपालिकामा भने फागुन २५ देखि २९ गते सम्म खोप अभियान सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । खोप अभियानमा १२ बर्ष भन्दाका माथिका खोप लगाउन बाँकी रहेका सबै,दोस्रो डोज लगाउन बाँकीलाइ तथा बुस्टरडोज समेत सोहि अभियानका क्रममा लगाइने रायले जानकारी दिए । कोरोना बिरुद्धको कार्यमा अग्रपंक्तिमा रहेर काम गर्ने तथा सामाजिक कार्यमा संलग्नहरुलाइ पहिलो प्राथमिकतामा राखी यसअघि प्रारम्भिक चरणमा बुस्टरडोज लगाइएको थियो । अहिले भने खोपको प्रकृया पार गरेका सबैलाइ बुस्टरडोज लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप अभियान सकिएको ३ दिन भित्र बिबरण दिनुपर्ने
जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले खोप अभियान सकिएको बढीमा ३ दिन भित्र खोपको बिबरण तत्–तत् निकायमा पठाउन सम्वन्धित पालिकाका स्वास्थ्य संयोजकहरुलाइ निर्देशन दिएको छ । खोप अभियान सम्पन्न भएको लामो समय सम्म पनि अधिकाँस पालिकाहरुबाट खोपको पूर्ण बिबरण प्राप्त नभएको गुनासो आएपछि सम्वन्धित पालिकाका स्वास्थ्य संयोजकहरुलाइ लिखित परिपत्र गर्दै खोपको बिबरण पठाउन निर्देशन दिने निर्णय भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुुख राजकुमार पोखरेलले पटक–पटकको तागेतामा समेत अधिकाँस पालिकाहरुले कोरोना बिरुद्धको खोपको पूर्ण बिबरण नपठाएकोले ययिकन तथ्याङ्क प्रबिष्ट गर्न कठिनाइ हुने बताउनुभयो । सिरिजङ्गा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले पालिकाहरुबाट तथ्याङ्क पठाउनमा ढिलाइ भएको जानकारी आफुले पहिलो पटक सुनेको भन्दै आफुले समेत खोपको पूर्ण बिबरण पठाउने कार्यमा स्वास्थ्य शाखालाइ तागेता गर्ने बताउनुभयो । पालिकाका स्वास्थ्य शाखाहरुले खोपको पूर्ण बिबरण स्वास्थ्य कार्यालय ताप्लेजुङमा पठाउनुपर्ने हुन्छ ।
करिव १ लाख ४० हजारले लगाए कोरोना बिरुद्धको खोप
माघ मसान्त सम्ममा ताप्लेजुङमा १ हजार २ सय ४२ जनाले बुस्टर डोज लगाइ सकेका छन् । सो अवधि सम्ममा १ लाख ३९ हजार १ सय ५८ जनाले कोरोना बिरुद्धको खोपको पहिलो र दोस्रो डोज लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार ७० हजार ७ सय ५६ जनाले दोस्रो डोज लगाएका छन् भने पहिलो डोज लगाउनको संख्या ७६ हजार ६ सय ८५ रहेको छ ।

कोभिशिल्ड÷एक्सट्राजेनेका लगाउनेको संख्या ३७ हजार १ सय ८७ रहेको छ । ७० हजार ४ सय ९३ जनाले भेरोसिल खोप लगाएका छन् । २३ हजार ४ सय २५ जनाले मोर्डना खोप लगाएका छन् भने ८ हजार ५३ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts