कक्षा १० र १२ को प्रमाणपत्र दिँदा बिद्यार्थीबाट १५ सय बढी शुल्क नलिन मेरिङदेनको आग्रह
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १० र कक्षा १२ उर्तीण बिद्यार्थीहरुले ट्रान्सक्रिप्टसहितका प्रमाणपत्र लिँदा प्रति बिद्यार्थी १ हजार ५ सय रुपैयाँ भन्दा बढी शुल्क नलिन पालिकाका बिद्यालयलाई पत्राचार गरेको छ ।
मेरिङदेन गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र कुमालले मंगलवार पालिका भित्रका सम्पूर्ण माध्यमिक बिद्यालयहरुलाई पत्र लेख्दै नियमानुसार भन्दा बढी रकम लिएको गुनासो आएको भन्दै नियमले तोके भन्दा बढी शुल्क नलिन आग्रह गर्नु भएको छ ।
पालिकाले कक्षा १० र १२ को ट्रान्सक्रिप्ट,माइग्रेसन र प्रोभिजनल(टिएमपी) प्रमाणपत्रका लागि प्रति बिद्यार्थी १ हजार ५ सय रुपैयाँ भन्दा बढी लिए कारवाही हुने चेतावनी समेत दिएको छ ।
पालिकाले नेपालको संविधान २०७२ को धारा ३१,अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन २०७५ र नेपाल सरकार,राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बिराटनगरको मिति २०८३ साल असार ३२ गतेको पत्रसमेत स्मरण गराउँदै पालिका भरीका माविहरुलाई प्रमाणपत्र बितरणको अधिकतम् शुल्क बारे ध्यानाकर्षण गराएको हो ।