मेची राजमार्गको सडक क्षेत्रका संरचना हटाउन ३५ दिने म्याद
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १३ । सरकारले मेची राजमार्ग सडक खण्डको सडक सीमा खाली गर्न जेठ १३ गतेका मितिले ३५ दिनको म्याद दिएको छ ।
मेची राजमार्गको इलाम जोरकलश देखि फिक्कल–इलाम–राँके– पाँचथरको हेंवाखोला–गोपेटार–काबेली हुँदै ताप्लेजुङको सुकेटारसम्मको सडक खण्डको सडक सीमा खाली गर्न ३५ दिने म्याद दिएको हो । सरकारले मेची राजमार्गको(NH–02)को जोरकलश देखि सुकेटारसम्मको विभिन्न स्थानमा सडक सीमा अतिक्रमण भएको देखिएको भन्दै यस्तो कार्यका कारण दिनहुँ सडक साँघुरिन गई यातायात आवागमनमा बाधा भएको तथा सडक दुर्घटना बढेको भन्दै सडक सीमा खाली गर्न भनेको छ ।
मेच्री राजमार्गको सडक सीमा सडकको केन्द्र देखि दायाँबायाँ १५–१५ मिटर रहेको छ । उक्त सडकको क्षेत्राधिकार भित्र अनाधिकृत रुपमा अतिक्रमण गरी बनाईएका स्थायी र अस्थायी संरचना(घर,घरको छज्जा,टहरो,छाप्रो,खोका,ठेला,होर्डिङ बोर्ड,निर्माण सामग्री)लगायतका अन्य संरचना समेत हटाउन सरकारले उर्दी गरेको छ ।
सार्वजनिक सडक ऐन २०३१ को दफा(३)(क)सडक सीमा तोकिएको भए तोकिएको सडक सीमा भित्रको फासलभित्र पर्खाल बाहेक अन्य कुनै अन्य किसिमको स्थायी तथा अस्थायी प्रकृतिको संरचना बनाउन नपाइने व्यवस्था उल्लेख गरिएको छ । सोहि ऐनमा निशेध गरिएको फासलभित्र कुनैपनि व्यक्तिले स्थायी वा अस्थायी बनौटको संरचना निर्माण गरेको भए त्यस्तो बनौटको संरचना सडक विभागको आदेशले भत्काउन सकिने भनिएको छ ।
सडक विभागले यस्ता संरचना भत्काउँदा लाग्ने आवश्यक खर्च समेत सम्वन्धित व्यक्तिबाटै भराउने ऐनमा व्यवस्था रहेको छ । सरकारले मेची राजमार्ग सडक खण्डको सडक सीमामा रहेका संरचना आफैं भत्काउन ३५ दिनको म्याद दिएको हो । उक्त अवधि पछि सडक क्षेत्राधिकार भित्र रहेका संरचना भत्काउँदा लाग्ने शुल्क समेत सम्वन्धित व्यक्तिबाटै भराउने गरी सरकारले सूचना जारी गरेको छ ।