| |

हिउँमा फसेका बाबुछोराको अझै उद्दार भएन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १७ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङ निवासी बाबुछोराको अझै उद्दार हुन सकेको छैन । चार दिन अर्थात गएको बुधबारदेखि हिउँमा फस्नुभएका शनिबार सम्ममा पनि उद्दार हुन नसकेको हो ।
पापुङका वडाध्यक्ष डण्डु लामाका अनुसार ५५ वर्षीय लाक्पाटासी शेर्पा र छोरा १५ वर्षीय पासाङ शेर्पा हिउँमा फस्नुभएको छ । हिउँमा फसेर तीन दिनपछि शुक्रबार दिउँसोबाट सम्पर्कमा आउनुभएका उहाँहरुको शनिबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्दारको प्रयास गरिएपनि सम्भव नभएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।
लामाका अनुसार चौंरी गोठमा बस्दैआउनुभएका बाबुछोरालाई बुधबार चौंरीसँगै हिउँ पहिरोले बगाएको थियो । लामाका अनुसार शुक्रबार दिउँसो सम्पर्क हुँदा पापुङकै लोदेन तीनपोखरी क्षेत्रमा हिउँ पहिरोले बगाएको र बीचमा ओडार भेटिएपछि आफूहरु त्यहाँ बस्न सफल भएको बताउनुभएको थियो । हाल ओडारमा सकुशल रहे पनि निस्कन सक्ने अवस्था नरहेको भनेर उहाँहरुले वडाध्यक्ष लामालाई सम्पर्क गर्न भएको थियो ।
यस्तै बाबुछोरासँग शनिबार बिहान ५ बजेतिर पनि सम्पर्क भएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । “बिहान सम्पर्क हुँदा आगो बालेर सङ्केत गर्नु, हेलिकप्टर पठाउँछौं र तपाईहरुको उद्दार हुन्छ भनेको थिए, तर आगो पनि बाल्नुभएन र उहाँहरु फसेको ठाउँ पत्ता नलागे पनि शनिबार उद्दार हुन सकेन” वडाध्यक्ष लामाले बताउनुभयो । अब आइतबार बिहानै उहाँहरुको हेलिकप्टरबाट उद्दार हुने उहाँले बताउनुभयो ।
यता हिउँमा फसेर सम्पर्क बिहीन बनेका बाबुछोराको अल्टिच्युट एयर कम्पनीको हेलिकप्टरमार्फत शनिबार बिहानै देखि खोजी तथा उद्दारको पहल गरिए पनि सम्भव नभएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । प्रजिअ पाण्डेका अनुसार फसेको ठाउँ पत्ता लाग्न नसकेर साथै पछि मौसम प्रतिकुलताका कारण उद्दारमा कठिनाइ भएको हो । शनिबार सम्भव नभएपछि उहाँहरुकै उद्दारका लागि आएको हेलिकप्टर सुकेटार विमानस्थलमा राखिएको र आइतबार बिहानैदेखि पुनः उद्दारको पहल गरिने पाण्डेले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts