ताप्लेजुङमा बढ्दै पहिरोको जोखिमः सर्तकता अपनाउन प्रशासनको आग्रह

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २० । पहिरोको उच्च जोखिममा रहेको ताप्लेजुङ सदरमुकाम फुङ्लिङकै एउटा बस्ती अति जोखिममा परेको छ । बस्तीमाथिबाट झरेको पहिरोले फुङलिङ नगरपालिका वडा नं ८ दोखु खोदम्बुको बस्ति जोखिममा परेको हो । बिहीबार बेलुका घरमाथि पहिरो झरेपछि सो बस्तीका पाँच परिवार घर छोडेर अर्को गाउँमा बसेका थिए । स्थानीय सूर्यमान तामाङका अनुसार लाखवहादुर मोक्तान, तारा तामाङ, बिर्खबहादुर तामाङ, पञ्चवहादुर सुनुवार र कमल मगरको परिवार पानी ट्याङ्की क्षेत्रमा सरेर बस्नु भएको छ । सो क्षेत्र पहिरोका दृष्टीले कम जोखिम क्षेत्रको रुपमा रहेको त्यहाँ सर्नेहरुको अनुमान छ । पहिरो बीरबहादुर तामाङको घरमाथिसम्म झरेको छ । बस्ती माथिको पहरा फुटेर झर्दा बीचमा रहेको सडकमा ठूलाठूला ढुङ्गा अल्झिएको छ । ढुङ्गा त्यहाँवाट झरे यी पाँचघर तलका अन्य परिवार पनि जोखिममा पर्नेछन् । सडकको माटो कमसल भएकाले ढुङ्गा बस्तीतर्फ झर्ने जोखिम पनि उत्तिकै छ । करिव एकसय मिटर लामो पहिरो बिरबहादुरको बारीसम्मै पुगेको छ । पहिरो सुरु भएको माथिल्लो भागमापनि ठूलाठूला ढुङ्गा भएकाले जोखिम रहेको हो । मनसुन पूर्णतया सक्रिय भएको र बर्षा पनि निरन्तर भईरहेकोले यो बेला सर्तकता अपनाउन आम जिल्लावासीलाई जिल्ला बिपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ । जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाढी र पहिरोको जोखिम बढ्दै गएकोले सम्बेदनशिल र सर्तक रहन आम जिल्लावासीलाई आग्रह गर्नु भएको छ । उहाँले पहिरोको अति जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्न समेत सुझाउनु भएको छ । उहाँ नेतृत्वको जिल्ला सुरक्षा समितिको टोलीले फुङ्लिङस्थित पहिरो जोखिम क्षेत्र खोदम्बुको स्थलगत निरीक्षण समेत गरेको छ । स्थानीय निर्माण व्यवसायीको स्काईभेटरको प्रयोग गरी पहिरो झरेर अबरुद्ध भएको सडकको अवरोध हटाईएको उहाँले जानकारी दिनुभयो । एउटा स्काईभेटरलाई मेची राजमार्ग क्षेत्रको काबेली–फुङ्लिङ खण्डमा केहिदिन तयारी अवस्थामा रहने गरी व्यवस्था मिलाउने पहल भईरहेको समेत प्रजिअ निरौलाले जानकारी दिनुभयो ।
फोटो ः ताप्लेजुङको फुङ्लिङ स्थित दोखुको खोदम्बु क्षेत्रको पहिरो । तस्बिर सौजन्य ः पत्रकार बसन्त पालुङ्वा

अरुलाई पनि शेयर गरौ !

Similar Posts