ताप्लेजुङ र पाँचथरका प्रहरी प्रमुखको भर्चुअल बैठक सम्पन्न,जिङ्गी काउन्टीका अधिकारीसंगको बैठक स्थगित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १ । ताप्लेजुङ र पाँचथरका जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल बैठकले अन्तर जिल्ला अपराध नियन्त्रण तथा अपराध अनुसन्धानमा सहकार्यसहितका बिषयमा छलफल गरेको छ ।

ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँई तथा पाँचथरका प्रहरी प्रमुख(डिएसपी)अनिशकुमार कर्णबिच भएको भर्चुअल बैठकमा अपराध नियन्त्रण तथा अपराध अनुसन्धानमा सहकार्यसहित सवारी चेकजाँच,फरार प्रतिवादीको खोजतलास र पक्राउ,शान्ति सुरक्षा व्यवस्थापन,मनसुनजन्य विपद् व्यवस्थापनमा सहकार्य र प्रहरी कार्यालयको कार्य सम्पादनका बिषयमा असल अभ्यास आदान–प्रदान भएको छ । ताप्लेजुङका प्रहरी प्रमुख बजगाँईले सीमा जोडिएको र दुबै जिल्लाबिच यातायातको आवात–जावत समेत एकै क्षेत्रबाट हुने भएकोले समसामयिक र सुरक्षा सन्दर्भलाई केन्द्रित रहेर छलफल गरिएको जानकारी दिनुभयो । पूर्वी नेपालको अन्तिम जिल्ला ताप्लेजुङ आउन–जान मेची राजमार्ग र तमोर करिडोर दुबै सडक मार्गको अधिकाँस हिस्सा पाँचथरमा पर्दछ ।

यसअघि ताप्लेजुङ,पाँचथर र संखुवासभा जिल्लाका प्रहरी प्रमुखहरुले समेत भर्चुअल बैठकमार्फत शान्ति सुरक्षा र अपराध नियन्त्रणका बिषयमा छलफल गर्नु भएको थियो । कात्तिक २७ गते ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीको अन्तर जिल्ला समन्वय बैठक फुङलिङमा बसेको थियो । यसैबिच ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारका सुरक्षा अधिकारीबिच मंसिर ३ गते हुने गरी तय भएको अन्तरदेशीय सीमा सुरक्षा बैठक तत्काललाई स्थगित गरिएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले तत्कालका लागि उक्त बैठक स्थगित गरिएको र आउँदो चैततिर बस्नेगरी प्रारम्भिक योजना बनाईएको जानकारी दिनुभयो ।

नेपाल–तिब्बत सीमा नाका टिपताला देखि नै अत्यधिक मात्रामा हिउँ परेका कारण डिङ्जी काउन्टी सरकारका सुरक्षा अधिकारी ताप्लेजुङ आइपुग्न नसक्ने भएका कारण तत्कालका लागि बैठक स्थगित गरिएको प्रजिअ दाहालले जानकारी दिनुभयो । डिङ्जी काउन्टी सरकारका सुरक्षा अधिकारी सुरुमा तातोपानी नाका हुँदै ताप्लेजुङ आउने तयारी थियो । डिङ्जी काउन्टी सरकारका सुरक्षा अधिकारी बैठकका लागि तीनदिनको समय रहेको थियो । तातोपानी नाका हुँदै ताप्लेजुङ आउन समय अभाव हुने अनुमान गरिदैं आएको बेला त्यहाँका सुरक्षा अधिकारीले टिपतालाबाटै आउने गरी तय गर्नु भएको थियो । हिमपातका कारण मंसिर ३ गतेका लागि तय भएको बैठकमा आउन नसक्ने अवस्था भएपछि बैठक स्थगित गरिएको प्रजिअ दाहालले बताउनुभयो ।

Similar Posts