तिब्बत र ताप्लेजुङका सुरक्षा अधिकारीबिचको सीमा सुरक्षा बैठक मंसिर ३ गते फुङलिङमा हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २१ । चीनको स्वशासित क्षेत्र तिब्बत र ताप्लेजुङका सुरक्षा अधिकारीबिचको सीमा सुरक्षा बैठक आउँदो मंसिर ३ गते ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले मंसिर ३ गतेका लागि बैठक तय भएको जानकारी दिनुभयो । यसअघिका अधिकाँस सीमा सुरक्षा बैठक तिब्बतको डिङ्जी काउन्टी अन्तरगत रिउ बजारमा हुने गरेका थिए । यसपटक उक्त बैठक फुङलिङमा हुनेगरी तय गरिएको प्रजिअ दाहालले जानकारी दिनुभयो ।
सीमा सुरक्षा बैठकका लागि तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारी तातोपानी नाका हुँदै ताप्लेजुङ आउने स्रोतले जनाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र ताप्लेजुङका सुरक्षा अधिकारीबिच हुने सीमा सुरक्षा बैठकमा सीमापार अपराध नियन्त्रण,विकास निर्माणमा सहकार्य,व्यपार सहकार्य,विपद् व्यवस्थापनका सम्भावित समस्या र समाधानका उपायमा दुबै देशबिचको अन्तर सहकार्यसहितका बिषयमा छलफल हुने गरेका छन् । (फायल फोटो)