फक्ताङलुङका बिद्यालयका कक्षाकोठामा शिक्षण सामग्री अनिवार्य,शिक्षकले आफैं बनाउँछन् शिक्षण सामाग्री

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २२ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका बिद्यालयका कक्षा कोठामा शैक्षिक सामग्री अनिवार्य गरिएपछि अहिले शिक्षक स्वयंले स्थानीय कच्चा पदार्थको प्रयोग गरी शैक्षिक सामग्री बनाउन थालेका छन् ।

फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपस्थित सरस्वती च्यारिवुक माविका शिक्षक छत्रबहादुर शाहीले‘लो कष्ट टिचिङ मेटेरियल’बनाउन बिद्यालयका शिक्षकहरु उत्साही भएर लागेको जानकारी दिए । शैक्षिक सामग्रीको प्रयोगमार्फत गरिएको शिक्षण सिकाई प्रभावकारी र सिकाई उत्सुक हुने भएकोले पालिकाका सबै बिद्यालयहरुमा शिक्षण सामग्रीको प्रयोग अनिवार्य गरिएको छ । गाउँ शिक्षा समितिको गत भदौ २२ गते बसेको बैठकले पठनपाठनमा शिक्षण सामग्रीको प्रयोग,शिक्षक डायरी,लगबुक आदिको प्रयोग,बिद्यार्थीलाई अनिवार्य गृहकार्य दिई त्यसको नियमित र प्रभावकारी परीक्षण गर्ने,बिद्यार्थीलाई घरमा अध्ययनका लागि बिषय शिक्षकले अनिवार्य अध्ययन तालिका बनाईदिने,हरेक च्याप्टरको अन्त्यमा परीक्षा लिने,हरेक महिनाको अन्त्यमा परीक्षा लिने,लिएको परीक्षाको अभिलेख सुरक्षित राखी दुई मासिक परीक्षाको नतिजा तुलना गरी सम्वन्धित अभिभावकलाई पृष्ठपोषण दिने सहितका निर्णय गरेको थियो ।

फक्ताङलुङ गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले शिक्षण सिकाईलाई प्रभावकारी बनाउन शिक्षण सामग्रीको प्रयोग अनिवार्य गरिएकोले शिक्षण सामग्रीको निर्माण र सोहि अनुसार कक्षाकोठामा अनिवार्य प्रयोग गर्नु शिक्षकको दायित्व हुने बताउनुभयो । शैक्षिक दातृ निकायको सहजीकरणमा फक्ताङलुङ गाउँपालिकाका बिद्यालयका कक्षाकोठामा विगत समयदेखि नै शिक्षण सामग्रीको निर्माण र प्रयोग हुँदै आएको छ । पालिका शिक्षा समितिले शिक्षण सामाग्रीको निर्माण र प्रयोगमा कडाई गरेपछि पालिका भरीका ४० वटै बिद्यालयका कक्षाकोठामा शिक्षण सामग्रीको निर्माण र प्रयोगलाई अनिवार्य रुपमा लागु गरिएको छ । भाषिक सीप विकास,ज्ञान र पढाइप्रति रुचि बढाउन शैक्षिक सामग्री उपयोगी र लाभदायी हुने सार्मथ्य फाउण्डेसनका कार्यक्रम निर्देशक राजेन्द्रप्रसाद पन्त बताउँनुहुन्छ ।

विद्यार्थीले नबुझेको र बिर्सिएको कुनै विषयमा कक्षाकोठामा प्रदर्शन गरिएको सामग्रीबाटै सिक्ने अवसर पाउने भएकाले सिकाइ उपलिब्धमा वृद्धि हुने फेज नेपालका ताप्लेजुङ कार्यक्रम संयोजक जीतेन चेम्जोङको ठहर रहेको छ । कक्षाकोठामा शिक्षकले पढाएको बुझेनन् अथवा बिर्सिए भने भित्तामा राखिएको शैक्षिक सामग्री हेरेर सम्झने र बुझ्ने अवसर समेत पाउने भएकोले कक्षाकोठामा शिक्षण सामग्रीको प्रयोग प्रभावकारी शिक्षण सिकाईका लागि उत्तम हुने निश्कर्ष पालिकाको रहेको फक्ताङलुङ गाउँपालिकाको शिक्षा समितिका सदस्य एवम् पालिकाका सूचना अधिकारी जयप्रसाद रिजालको भनाई रहेको छ । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धिमा सुधार आउने पालिकाले अपेक्षा राखेको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।

शैक्षिक दातृ निकाय सार्मथ्य फाउण्डेसन(करिव १७ बर्ष रिड नेपालको नामबाट कार्यक्रम सञ्चालन भएको),फेज नेपाल,एक्सन फर नेपाल,हिमालयन् डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलिया,पुतली सहयोग कार्यक्रम,ह्युमन प्राक्टिस फाउण्डेसनसहितका निकायले फक्ताङलुङ गाउँपालिकाको शैक्षिक विकासमा सहयोग गर्दै आएका छन् । शैक्षिक दातृ निकायको सहयोगलाई स्मरण गर्दैै पालिकाले दातृ निकायका प्रतिनिधिलाई समेत पालिकाको शिक्षा शाखाका आधिकारिक प्रतिनिधि सरह मान्यता दिएको छ ।

Similar Posts