इन्भेष्टमेन्ट मेगा बैंकबाट फुनपा–६ का दुईसय बढी बिद्यार्थीले पाए ट्रयाक सुट
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २१ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ताप्लेजुङ शाखाले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ का तीनवटा बिद्यालयका बिद्यार्थीलाई १ लाख ६४ हजार मूल्य बराबरको न्यानो कपडा बितरण गरेको छ ।
सामाजिक उत्तरदायित्व शीर्षकको रकमबाट बैंकले फुङलिङ नगरपालिका वडा नं ६ संगको सहकार्यमा उक्त रकम बराबरको ट्रयाक सुट बितरण गरेको हो ।
वडाध्यक्ष मदन गुरुङ(तेज)का अनुसार फुनपा वडा नं ६ स्थित बाँझोगरा आधारभूत बिद्यालयका १ सय बिद्यार्थीलाई ८० हजार मूल्य बराबरको,बगरवारी आविका ७० बिद्यार्थीलाई ५६ हजार मूल्य बराबरको र अमरस्मृति आविका ३५ बिद्यार्थीलाई २८ हजार मूल्य बराबरको ट्रयाक सुट बितरण गरिएको छ ।
कुल २ सय ५ जना बिद्यार्थीलाई ट्रयाक सुट बितरण गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसअघि फुनपा ६ ले वडाभरीका तीन सामुदायिक बिद्यालयका बिद्यार्थीलाई एकबर्षसम्म पुग्ने गरी करिव ३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको शैक्षिक सामग्री बितरण गरेको थियो ।