‘एक बिद्यालय–एक करेसाबारी कार्यक्रमलाई प्रयोगात्मक सिकाईमा केन्द्रित गर्दै फक्ताङलुङ
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ‘एक बिद्यालय–एक करेसाबारी,एक शिक्षक–एक बिरुवा’कार्यक्रमलाई कृषि शिक्षा तथा प्रयोगात्मक सिकाई केन्द्रित गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार वातावरण संरक्षण,कृषि,शिक्षा र प्रयोगात्मक सिकाईलाई संस्थागत गर्न पालिकाले प्रत्येक बिद्यालयमा ‘एक बिद्यालय–एक करेसाबारी,एक शिक्षक–एक बिरुवा’कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको छ । अतिरिक्त र प्रयोगाात्मक सिकाईको रुपमा वातावरण संरक्षण र कृषि शिक्षालाई बिद्यालय तहबाटै अघि बढाउने योजना अनुरुप पालिकाले चालु शैक्षिक सत्र २०८३।८४ मा समेत उक्त कार्यक्रमलाई निरन्तरता दिने पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
वातावरण संरक्षणका क्रियाकलाप बिद्यालय तहबाटै सुरु गरेमा यसको प्रभाव समग्र अभिभावकमा समेत पर्ने भएकोले यो कार्यक्रम प्रभावकारी हुने पालिकाको बुझाई रहेको छ । बिद्यालयमै करेसाबारीको निर्माण गरी शुद्ध कृषि उत्पादनको व्यवहारिक ज्ञान समुदायसम्म पु-याउन पालिकाले यस्तो नीति अवलम्बन गरेको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । करेसाबारी निर्माण र व्यवस्थापनमा बिद्यार्थी तथा शिक्षक दुबैको सहभागिता हुने र वृक्षरोपण र त्यसपछिको सम्भारमा बारेमा समेत ज्ञान प्रेषित हुने भएकोले पालिकाले यो कार्यक्रमलाई शैक्षिक नमूनाको रुपमा लिएको जनाएको छ । यसबाहेक पालिकाले स्थानीय पाठ्यक्रमको निर्माण गरी आधुनिक र अर्गानिक कृषि प्रणाली तथा जैविक विविधता संरक्षणका विभिन्न उपायहरु बिद्यार्थीमार्फत समुदाय लैजाने योजना बनाएको छ ।
मातृ भाषामा आधारित शिक्षा तथा पालिकाले निर्माण गरेको पञ्चबर्षिय शिक्षा योजनालाई पूर्ण रुपले कार्यान्वयन गर्नेगरी पालिकाले स्थानीय मौलिकता,इतिहाँस,संस्कृति,भाषा,जैविक विविधता तथा कृषि र औद्योगिक क्षेत्रका परम्परागत ज्ञान र सीपलाई बिद्यालयसंग जोड्ने योजना बनाएको जनाएको छ । पालिकाले शिक्षा क्षेत्रमा दातृ साझेदार निकायको रुपमा सहयोग गरेका हिमालयन् डेभलपमेन्ट फाउण्डेसन अष्टे«लिया,फेज नेपाल,ओपन लर्निङ एक्सचेञ्ज नेपाल,एचपिएफ,रिड नेपाल,सार्मथ्य फाउण्डेसन,पुतली सहयोग र बुद्धिष्ट समाज नेपाल लगायतका दातृ निकायबाट प्राप्त शैक्षिक अनुभवलाई पालिकाका सबै बिद्यालयमा निरन्तरता दिने भएको छ । शैक्षिक दातृ निकायबाट प्राप्त डिजिटल शिक्षा,शिक्षक क्षमता विकास तथा बिद्यार्थी केन्द्रित सिकाई प्रणालीलाई सबै बिद्यालयमा निरन्तरता दिने पालिकाको योजना रहेको छ ।