फक्ताङलुङको रुपान्तरणकारी शैक्षिक योजना : विगतबाट सिक्ने,वर्तमानमा सुधार्ने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सार्वजनिक शिक्षाको रुपान्तरणका लागि गुणस्तरीय शिक्षा प्राथमिकताको बिषय भएको दोहोर्याएको छ ।
गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले गुणस्तरीय शिक्षा समुदायको अधिकारको बिषय भएकोमा पालिका प्रतिबद्ध रहेको बताउँदै विगतबाट सिक्ने,वर्तमानमा सुधार्ने र त्यहीबाट शिक्षाको भविष्य निर्धारण गर्ने अभियानमा पालिका रहेको बताउनु भएको हो । पालिकाको शैक्षिक उन्नती र गुणस्तरीय रुपान्तरणका लागि पालिकाले पालिका भित्रका माध्यमिक बिद्यालयका प्रधानाध्यापक,बिषयगत शिक्षक,साझेदार दातृ निकाय,शिक्षक उत्प्रेरक र पालिकाको शिक्षा शाखाकाबिचमा शैक्षिक अन्तरक्रिया गरेको थियो । अन्तरक्रियाले विगतका शैक्षिक उपलब्धी र शिक्षा क्षेत्रमा भएका कमजोरीका आधार खोजी गरेको बताउँदै कमजोरीलाई सुधार्न आगामी दिनका प्राथमिकता र कार्यदिशा निर्धारण समेत भएको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।
अन्तरक्रियाले समस्याको पहिचान र समाधानको साझा प्रतिबद्धता तय गरेको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिनु भएको छ । सार्वजनिक शिक्षा सुधार नगरी शैक्षिक गुणस्तर तथा नतिजा सुधारको कार्य सम्भव नहुने देखेपछि फक्ताङलुङ गाउँपालिकाले शैक्षिक सत्रको त्रैमार्सिक अवधिमै साझेदार निकायसहितको उपस्थितिमा पहिलो शैक्षिक समिक्षा गरेको जनाएको छ । पालिकाका सूचना अधिकारी जयप्रसाल रिजाल गुणस्तरीय,व्यवहारिक र परिणाममुखी शैक्षिक योजनाको आगामी कार्यदिशा तय गर्न समिक्षा बैठक प्रभावकारी भएको बताउनुहुन्छ । अन्तरक्रियात्मक समिक्षा कार्यक्रमले विगतका शैक्षिक गतिविधिको निर्मम समिक्षा गरी आगामी कार्यनीतिलाई स्पष्ट मार्गनिर्देशन दिएको सूचना अधिकारी रिजालको भनाई रहेको छ ।
पालिका अध्यक्ष लिम्बूले शिक्षा केवल अक्षर चिनाउने प्रकृया मात्र नभई समाजको चेतनास्तर निर्माण गर्ने,असमानता अन्त्य गर्ने र आत्मनिर्भर समाजको आधार तयार गर्ने भएकोले पालिकाले सार्वजनिक शिक्षा सुधारको अभियानलाई प्रमुख प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुहुन्छ । बिद्यालयको भौतिक संरचनासंगै बिद्यार्थीको सिकाई उपलब्धी सुधार,शिक्षकको सिकाई क्षमता सुधार,प्रविधि र पाठ्य सामाग्रीमैत्री शिक्षण सिकाईको प्रयोग र शैक्षिक अनुशासनलाई कडाईका साथ कार्यान्वयन गर्दा मात्र गुणस्तरीय र प्रभावकारी शिक्षण सिकाई सम्भव हुने फक्ताङलुङले ठहर गरेको छ ।