साउन महिनामा २ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २ । चालु आर्थिक बर्षको साउन महिनामा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट २ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार १२ जनाले चीन सीमा पास परिचयपत्र लिँदा १ जनाले सीमा पास परिचयपत्र नविकरण गरेका छन् । भट्टराईका अनुसार साउन महिनामा २ सय ४६ जनाले वंशजका आधारमा नयाँ नागरिकता लिँदा २ सय १ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रशासन कार्यालयबाट ६ जनाले राहदानीको द्रुत सिफारिस लिएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार २ सय ११ वटा साधरण राहदानी सिफारिस गरिएको छ । साउन महिनामा प्रशासन कार्यालयबाट १ सय ३६ वटा राहदानी बितरण हुँदा हुलाक कार्यालयमार्फत ३४ वटा राहदानी सेवाग्राहीलाई बितरण गरिएको छ ।
प्रशासन कार्यालयमा साउन महिनामा मात्र ७ सय ५२ जनाले राष्ट्रिय परिचयपत्रको रुजु फाराम हराई खोजीका लागि आवेदन दिएका छन् । ७४ जनाले राष्ट्रिय परिचयपत्रको विवरण सच्याएका तथा ३४ जनाले राष्ट्रिय परिचयत्रको कार्ड बुझेर लगेको प्रशासन कार्यालयले जनाएको छ । साउन महिनामा ७ सय ६६ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण भरेका छन् । चालु आर्थिक बर्षको पहिलो महिनामा ३ जनालाई नावालक परिचयपत्र बितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
साउन महिनामा प्रशासन कार्यालयले कार्यालय भित्रैबाट २ सय २ वटा राहदानीका अनलाइन फारम निःशुल्क भरिदिएको छ भने नागरिक सहायता कक्षबाट कार्यालयका प्रयोजनमा प्रयोग हुने आवश्यक कागजातको १ हजार १ सय ८० थान प्रतिलिपि निःशुल्क उपलब्ध गराएको समेत प्रशासन कार्यालयले जनाएको छ । चालु आवको साउन महिनामा ४ वटा हातहतियारको नविकरण भएको,एउटा संस्था नविकरण भएको,२ वटा नयाँ संस्था दर्ता भएको,१६ जनाले जनजाति सिफारिस लगेको,४ जनाले भारतीय पेन्सन सिफारिस लगेको र एकजनाले राहदानीको नावालक सिफारिस लगेको प्रशासन कार्यालयले जनाएको छ । साउन महिनामा प्रशासन कार्यालयमा २ वटा अभद्र व्यवहारका मुद्दा दर्ता भएभने एउटा ठाडो उजुरी परेको समेत प्रशासन कार्यालयले जनाएको छ ।