मैवाखोलाले छ बिधाका खेल प्रशिक्षक करारमा राख्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले फुटबल,भलिबल तथा मार्सल आर्टतर्फका ४ गरी ६ बिधाका खेलकुद प्रशिक्षकको व्यवस्था गर्ने भएको छ ।

पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार फुटबल,भलिबल तथा मार्सल आर्टतर्फ सितोरियो कराँते,उसु,तेक्वादो र कवड्डीसहितका खेलहरुको नियमित प्रशिक्षण गर्न खेल प्रशिक्षकको व्यवस्था गर्ने भएको । पालिकाले यसअघि फुटबल,भलिबल,तेक्वादो,कराँते र उसु बिद्या गरी ५ बिधाका खेल प्रशिक्षकलाई सेवा करार गरी पालिकाका बिद्यालयहरुमा तालिका बनाएर प्रशिक्षण गराउँदै आएको थियो । मैवाखोला गाउँपालिका विगतका लगातार दुई पटकको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको बिजेता पनि हो ।

पालिकाले विभिन्न खेल बिधाको प्रशिक्षण मापनका लागि पालिकाभरीका बिद्यालयका बिद्यार्थीहरुबिच प्रतियोगिता समेत सञ्चालन गर्दै आइरहेको छ । पालिका अध्यक्ष वनेमका अनुसार खेलकुद क्षेत्रमा दक्ष,अनुशासित तथा व्यवसायिक जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार युवा तथा खेलकुदतर्फका कार्यक्रमलाई पालिकाले बिशेष महत्व दिएको छ । खेलकुदलाई गाउँपालिकाको पहिचान र गौरवसंगै जोड्दै खेलाडीको व्यवसायिक भविष्य सुनिश्चित गर्न पालिकाले आर्थिक तथा सामाजिक संरक्षण र प्रोत्साहनका कार्यक्रम अघि बढाउने गरी चालु आर्थिक बर्ष २०८२।८३ मा बजेटको प्रवन्ध गरेको जनाएको छ । पालिकाले युवा तथा खेलकुदतर्फ चालु बर्षमा ६९ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

Similar Posts