शुभकामना आदान–प्रदान सहित ताप्लेजुङमा मनाईयो घण्टाकर्ण पर्व,सुरु भयो लाखे नाच
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २६ । सांस्कृतिक परम्पराअनुसार मंगलवार घण्टाकर्ण पर्व मनाईएको छ । घण्टाकर्ण पर्वको अवसरमा नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङले शुभकामना आदान–प्रदानसंगै मंगलवारबाटै लाखेनाच समेत सुरु गरेको छ ।
श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ । समाजको भवन रहेकोस्थल फुङलिङ जौवारी स्थित भीमसेनथान मन्दिर प्रांगणमा विधिवत पूजा अर्चना गरी घण्टाकर्ण पर्व मनाईएको हो । घण्टाकर्ण पर्वका अवसरमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप हरियो नर्कट,निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई त्यसको प्रतिकलाई जलाईएको छ । नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शंकर श्रेष्ठका अनुसार घण्टाकर्ण पर्वसंगै यहाँ लाखेनाच सुरु भएको छ । अब प्रत्येक दिन यहाँ लाखेनाच प्रर्दशन हुने छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य,रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने परम्परा नेवार समुदायमा रहेको बताइन्छ । जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त गर्नुका साथै आर्थिक र भौतिक उन्नतिका लागि घण्टाकर्णको पूजा आराधना कार्यलाई महत्वपूर्ण मानिन्छ ।
घण्टाकर्ण पर्वको अवसरमा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले नेपाल संस्कृति र सभ्यताको अनुपम नमूना भएको बताउँदै सुरु भएको लाखे नाचलाई सभ्य र सुरक्षित बनाउन आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जातिय तथा धार्मिक र साँस्कृतिक विविधता भएर पनि ताप्लेजुङमा अन्य भन्दा फरक र एकीकृत ढंगले पर्व तथा संस्कार मनाउने गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षामा आफुहरुको निकायकोतर्फबाट कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाउँदै सबैलाई शान्तिपूर्ण ढंगले पर्वमा सहभागिता जनाउन आग्रह गर्नुभयो । फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुले धर्म,संस्कार र संस्कृतिमा धनी नेपाल धार्मिक तथा सामाजिक सहिष्णुतामा समेत उत्तिकै सवल हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपाने,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतम,लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन,लिटलबुद्ध इङसिल बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरी,किराँत याक्थुङ चुम्लुङका ताप्लेजुङका सचिव सरोज कङ्लिवा,नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका पूर्व अध्यक्ष निरोज श्रेष्ठ सहितले घण्टा कर्ण,लाखे नाँच र नेपाली सभ्यताका विभिन्न आयाम बारे प्रष्ट्याउनु भएको थियो ।कार्यक्रममा सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्पति सशस्त्र प्रहरी नायव उपरीक्षक धनबहादुर बोहोरा,प्रहरी निरीक्षक बिन्देश्वर यादव शाह,फुङलिङ नगरपालिकाको वडा नं १,वडा नं २,वडा नं ४,वडा नं ५,वडा नं ६,वडा नं ७,वडा नं ८ र वडा नं ९ का वडाध्यक्षहरु,नेपाल भाषा तथा साँस्कृतिक समाजका पूर्व अध्यक्ष तथा अगुवा व्यत्तित्वहरु र सञ्चारकर्मी तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।