भवनहरुको अभिलेखीकरण गरी निर्माण सम्पन्नताको प्रमाणपत्र जारी गर्दै मैवाखोला,कार्यविधि कार्यान्वयनमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २५ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका क्षेत्रभित्र निर्माण भएका,तला थप भएका तथा अन्य भवनहरुलाई अभिलेखीकरण गरी निर्माण सम्पन्नताको प्रमाणपत्र जारी गर्ने भएको छ ।

पालिकाले भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी गर्ने कार्यलाई सरल,सुव्यवस्थित र प्रभावकारी बनाउन भवन निर्माण सम्पन्नअभिलेखीकरण सम्वन्धी कार्यविधि जारी गरेको हो । पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार आफ्नो भगभोक र स्वामित्वको जग्गामा निर्माण भईसकेको भवनको नापजाँच गरी अभिलेखीकरण गर्ने प्रयोजनका लागि कार्यविधि स्वीकृत गरी जारी गरिएको छ । पालिकाले प्रारम्भिक प्राविधिक प्रतिबेदनका आधारमा भवन निर्माण सम्पन्न अभिलेखीकरण भएको प्रमाणित गर्ने कागजात जारी गर्ने छ । भवन अभिलेखीकरण प्रकृयाका लागि पालिकाको भवन तथा बस्ति विकास शाखामार्फत प्राविधिक अध्ययन हुने छ ।

भवन नक्सा पास तथा निर्माण इजाजत सम्वन्धी प्रकृयामा नआई तथा पास भएको नक्सामा स्वीकृत बेगर हेरफेर गरी निर्माण भईसकेको भवनको हकमा निर्मित भवनको अभिलेखीकरणका भवन निर्माण सम्पन्न अभिलेखीकरण गरी पाउँ भनी सम्वन्धित सेवाग्राहीले दरखास्त दिनुपर्ने हुन्छ । त्यसका लागि योग्यता पुगेका डिजाइनरहरुबाट भवनको प्राविधिक नक्सा बनाई सोहिमार्फत डिजाइनर डेस्कबाट अभिलेखीकरणका लागि दरखास्त दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यसरी प्राप्त भएको दरखास्त उपर गाउँपालिकाको भवन तथा बस्ति विकास शाखाले प्राप्त दरखास्त रीतपूर्वकको भए नभएको जाँच गरी सन्धी सर्पन बारे संधियारको नाममा १५ दिने सूचना जारी गर्ने छ । प्रकाशित सूचना उपर कसैका दावी बिरोध नपरेमा उक्त म्याद सकिएको ७ दिन भित्र पालिकाले सर्भेक्षक वा अमिन खटाई सर्जमिन मुचुल्का उठाउने छ भने दावी बिरोध परेको हकमा ऐन बमोजिम गर्ने छ । उक्त प्रयोजनका क्रममा पालिकाका सर्भेक्षक वा अमिनले घरको फिल्ड निरीक्षण गरी प्राविधिक प्रतिबेदन दिनेछन् । प्राविधिक प्रतिबेदनमा पेश भएको नक्सा बमोजिमको घर भए नभएको एकिन गरी नभएमा घरधनीलाई घर बमोजिमकै नक्सा सुधार गर्न सुझाव दिनेछन् ।

पालिकाले भवन निर्माण सम्पन्न अभिलेखीकरणका लागि तीनबुदाँका मापदण्ड तय गरेको छ । जसअनुसार नक्सा पास नगरेको तर फिल्डमा मापदण्ड मिल्ने गरी भवन निर्माण गरेको,नक्सा पास नगरेको र फिल्डमा मापदण्ड विपरित हुने गरी भवन निर्माण गरेको र भवन नक्सा पास गरेको र फिल्डमा काम गर्दा मापदण्ड विपरित हुने गरी निर्माण गरिएको भवनको हकमा नक्सा पास दस्तुरको तेब्बर रकम तिर्न लगाई निर्मित भवनको नक्सा स्वीकृत गर्न लगाई भवन सम्पन्न अभिलेखीकरण गरिने भएको छ । यस्ता प्रकृतिका भवनको अभिलेखीकरणमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था अनुसार थप जरीवाना गर्नुपरेमा प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्ष समक्ष सिफारिस गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । भवन निर्माण अभिलेखीकरण गर्दा सार्वजनिक कुलो,वन जंगल,पर्ति जग्गा,सार्वजनिक मठ मन्दिर,बाटो र नापी नक्साको बाटो भवनले नमिचेको तर मापदण्ड बमोजिमको सेट ब्याक नछाडेमा सेट ब्याक भित्रको जग्गा नक्सामै लाइन तानी स्थानीय सरकार सञ्चालन ऐनले तोके अनुसार नक्सा पास दस्तुरको तेब्बर दस्तुर तिर्न लगाई मापदण्ड विपरितको भाग संघ,प्रदेश वा स्थानीय सरकारले चाहेको बेला भत्काउने गरी घरधनीको कवुलियत नामा गराई भवन निर्माण सम्पन्न अभिलेखीकरण दिईने भएको छ ।

Similar Posts