लिवाङ चिनावुङ क्षेत्रको बाटो साउन २७ सम्म बन्द हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङस्थित चिनावुङ क्षेत्रको मोटरबाटो साउन २७ गतेसम्मका लागि अबरुद्ध हुने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीका अनुसार चिनावुङ क्षेत्रमा मोटरबाटो सोलिङ गर्ने कार्य जारी रहेकोले उक्त कार्य पूरा नहुञ्जेलसम्मका लागि साउन २५ बाट २७ गतेसम्म उक्त मोटरबाटोमा सवारी आवतजावत बन्द गरिएको छ ।
साउन २७ गतेसम्म चिनावुङ क्षेत्र हुँदै थलङ–साँवा आवत–जावत गर्ने सम्पूर्ण सवारी साधन,चालक,यात्रु तथा स्थानीय बासिन्दालाई वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न पालिकाले आग्रह गरेको छ । पालिकाले निर्माण कार्यका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी सावधानी अपनाई निर्माणस्थलमा अनावश्यक आवत–जावत नगर्न समेत आग्रह गरेको छ ।