सामुदायिक वन दिवसका अवसरमा फुङफुङ्गे सामुदायिक वन क्षेत्रमा सफाई र वृक्षरोपण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २५ । सामुदायिक वन दिवसका अवसरमा सोमवार सामुदायिक वन उपभोक्ता महासंघ मिक्वाखोला गाउँपालिका समितिको संयोजनमा फुङफुङ्गे सामुदायिक वन क्षेत्रमा सरसफाई तथा वृक्षरोपण गरिएको छ ।

मिक्वाखोला गाउँपालिकाको सहयोग तथा अपर मेवाखोला ‘ए’जलविद्युत आयोजनामा भएको वृक्षरोपण कार्यक्रममा विभिन्न प्रजातिका करिव ६ सय वटा बिरुवा रोपण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका कोषाध्यक्ष घनेन्द्र थापाले जानकारी दिनुभयो । सामुदायिक वन दिवसकै अवसरमा फुङफुङ्गे झरना क्षेत्रको पदमार्ग तथा आसपासको भागमा सफाई समेत गरिएको सामुदायिक वन उपभोक्ता महासंघ मिक्वाखोला गाउँपालिका महासंघका अध्यक्ष विजय साँवा लिम्बूले जानकारी दिनुभयो ।

सफाई तथा वृक्षरोपण कार्यक्रममा वीरदल गणका सेनानी हरिबहादुर क्षेत्रीको नेतृत्वमा जलविद्युत सुरक्षार्थ खटिएको गणका सुरक्षाफौज, सामुदायिक वन उपभोक्ता महासंघ मिक्वाखोला गाउँपालिका समितिका पदाधिकारी तथा सदस्यहरु,मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका कार्यवाहक वडाध्यक्ष सलिना बराईली,मिक्वाखोला गाउँपालिकाका कर्मचारी, अपर मेवाखोला ‘ए’जलविद्युत र मध्य मेवा जलविद्युत आयोजनाका कर्मचारीसहित स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो ।

सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँमा रहेको वनलाई व्यवस्थापनका लागि स्थानीय समुदायलाई हस्तान्तरण गरिएको २०३० सालको साउन २५ गतेलाई स्मरण गर्दै हरेक वर्ष यो दिन सामुदायिक वन दिवसको रूपमा मनाउने गरिन्छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघले भने आइतवारै फुङलिङस्थित तोक्मे क्षेत्रको पार्क तथा मपदमार्ग सफाई अभियान सञ्चालन गर्दै सामुदायिक वन दिवस मनाएको छ ।

Similar Posts