कर्मचारीको निधन पछि मिक्वाखोलामा सोमवार शोक बिदा

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २५ । पालिकाका कर्मचारीको निधन भएपछि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले सोमवार एकदिनका लागि शोक बिदा दिएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीका अनुसार पालिकाको केन्द्र साँवामा रहेको स्वास्थ्य चौकीका कार्यालय सहयोगी पृथीबहादुर गुरुङको निधन पछि सोमवार एकदिनका लागि शोक बिदा दिईएको हो । शोक बिदाका दिन पालिका कार्यालय,पालिका भित्रका सम्पूर्ण वडा कार्यालय तथा सबै स्वास्थ्य संस्थाहरु बन्द हुनेछन् ।

पालिकाले अत्यावश्यक तथा आकस्मिक स्वास्थ्य सेवा भने बिदाका दिन समेत कायम रहने जनाएको छ । पालिकाले निधन भएका कर्मचारी गुरुङको चीर शान्तिको कामना तथा शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै समबेदना समेत प्रकट गरेको छ । २०२७ साल पुस १६ गते जन्मिनु भएका गुरुङको २०८३ साल साउन २३ गते ५६ बर्षको उमेरमा निधन भएको थियो ।

Similar Posts