काट्छु र मार्छु जस्ता सन्देश पठाउनेहरुलाई कारवाही गर्न नसक्ने सरकारले जनताको सुरक्षा गर्न सक्दैन: अध्यक्ष राई
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ३० । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद हर्कराज राईले आफुलाई काट्छु र मार्छु जस्ता सन्देश पठाउनेहरुलाई कारवाहीको दाहेरामा ल्याउन नसक्ने बर्तमान सरकारले नागरिकलाई सुरक्षा दिन नसक्ने बताउनु भएको छ । गृहमन्त्री सुदन गुरुङ गृहमन्त्री नभई ‘घरमन्त्री’जस्तो बनेको आरोप समेत राईले लगाउनु भएको छ ।
श्रम संस्कृति पार्टीले ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आइतवार आयोजना गरेको कार्यक्रममा बोल्दै राईले भन्नुभयो ‘मलाई काट्छु र मार्छु जस्ता म्यासेज आउँछन्,लौन कारवाही गर्नुपर्यो भनेर गृहमन्त्रीलाई भन्यो,साइवरमा उजुरी गर्यो ,माननीय ज्यू यो त केहि पनि गर्न नसकिने रहेछ भनेर जवाफ आउँछ’ । बर्तमान सरकार नागरिकको जीउधनको सुरक्षा गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै राईले आफ्नो सुरक्षामा आफैं सम्बेदनशिल बन्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । इनम सापकोटाको नामै लिएर राईले एउटा बिचौलिया पक्रदा सरकार आत्तिएर प्रहरी महानिरीक्षक बर्खास्तीसम्म गर्नुपर्ने अवस्थामा पुगेको दावी गर्नुभयो ।‘देशमा अहिले दुईजना आईजिपी छन्,एक हुँदाहुँदै सरकार आफैंले आईजिपी माथि सौता हालिदियो’राईले भन्नुभयो‘अब दोस्रोलाई पनि सौता हालेर तेस्रो बनाउन बेर छैन’ ।
प्रहरी संगठनलाई काम गर्ने वातावरण सरकारले बनाईदिनुपर्नेमा दबाब र प्रभावमा पारेर प्रहरी संगठनको मनोवल घटाउने काम सरकारले गरिरहेको राईको आरोप थियो ।‘प्रहरीलाई चोर पक्रेर ल्याउ भन्छ,चोर पक्रियो भने हैन यो त मेरो मान्छे भनेर चोर पक्रिने प्रहरीलाई कारवाही गर्न थालिहाल्छ’सरकारप्रति राई आक्रामक देखिनुभयो । प्रहरी संगठनमा काम गर्ने वातावरण नै बन्न नसकेको बताउँदै राईले प्रहरी कर्मचारीको सरुवा र बढुवामा समेत सरकारले अनावश्यक हस्तक्षेप गरेको आरोप समेत लगाउनुभयो ।
राईले आफुमाथि जातिवादी राजनीति गरेको आरोपको खण्डन गर्दै भन्नुभयो‘म कुन एङ्गलबाट जातिबादी देखिन्छु,मत नागरिकवादी हुँ,देशभक्त र श्रमवादी हुँ’। श्रम संस्कृति पार्टी स्थापना भएदेखि अहिलेसम्म देशका कुनैपनि स्थानीय सरकारका प्रमुखले यो तहको स्वागत नगरेको स्मरण गर्दै राईले पालिका पुगेका बेला स्वागत गरेर राजनीतिक हार्दिकता प्रकट गरेको भन्दै आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूको प्रशंसा समेत गर्नुभयो । ‘राजनीतिक हार्दिकताको खडेरी तोडेर यहाँले सुरु गर्नु भएको स्वागत र सम्मान सबैका लागि अनुकरणीय छ’पालिका अध्यक्ष पोमूलाई उहाँले भन्नुभयो । राजनीतिक बिचारधारा फरक परेपनि एउटै मञ्चमा बस्न,बिचारमा सहकार्य गर्न,असल अभ्यास आदान–प्रदान गर्न र साझा समस्याको साझा रुपले समाधान खोज्न उद्यत रहनु अपराध नभई सामाजिक चेतनाको विकासको रुपमा लिन सकिने उहाँको भनाई थियो । फरक राजनीतिक दल हुँदैमा पर–पर बस्न नहुने बताउँदै राजनीति हार्दिकता र आपसी सद्भाव बलियो बनाउन सबैलाई आग्रह गर्नु भएको छ ।
आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष पोमूले आफ्नो पालिका क्षेत्रमा आएका राईलाई स्वागत गर्दै पालिकाको डायरी हस्तान्तरण गर्नुभयो । पोमू २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित पालिका अध्यक्ष तथा एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष समेत हुनुहुन्छ । आफ्नो पालिकामा आउने अथितिको स्वागत गर्नु आफ्नो दायित्व भएको बताउँदै पालिका अध्यक्ष पोमूले आफुले सुरु गरेको विगतको परम्परालाई निरन्तरता दिएको बताउनुभयो ।