विद्युतमा लगाईएको कर हटाउने बिषयमा सदनमा आवाज उठाइदिन सांसद गुहार्दै आठराई त्रिबेणी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ३० । विद्युत शुल्क पालिकाले तिरिदिएपनि संघीय सरकारले लगाएको विद्युत करका कारण नागरिकमा समस्या हुने भन्दै ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले कर कटौतिका लागि सांसद गुहारेको छ ।
आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले विद्युतीय कर कटौतिको प्रस्ताव सदनमा जोडदार उठाउन प्रतिनिधिसभाका सदस्यहरुलाई आग्रह गर्नु भएको छ । आइतवार पार्टी कार्यक्रमको सिलसिलामा आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र हाङपाङ पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद हर्कराज राईलाई विद्युत उपभोग वापत सरकारले लगाएको कर सम्वन्धी निर्णयको बिरोधमा सदनमा आवाज उठाइदिन पालिका अध्यक्ष पोमूले आग्रह गर्नु भएको छ् । यसअघि पालिका अध्यक्ष पोमूले ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबेलाई विद्युत उपभोग वापत सरकारले लगाएको कर खारेजीको मुद्दा सदनमा जोडदार रुपमा उठाउन आग्रह गर्नु भएको थियो ।
आठराई त्रिबेणी गाउँपालिकाले पालिका भरीका नागरिकले घरायसी प्रयोजनका क्रममा उपभोग गरेको विद्युतको शुल्क पालिकाले नै तिरिदिदै आएको छ । विद्युत उपभोग वापत कर लाग्ने गरी संघीय सरकारले गरेको निर्णयले नागरिकमा अनावश्यक भार पर्ने भन्दै आठराई त्रिबेणीले उक्त कर हटाउन संघीय सरकारलाई दबाबको खाँचो रहेको औंल्याएको हो । पालिकाभरीका नागरिकले प्रयोग गरेको विद्युत शुल्क पालिकाले नै तिरिदिएर नागरिकलाई विद्युत शुल्क पूर्ण रुपमा मिनाह गरेको स्मरण गर्दै पालिका अध्यक्ष पोमूले एक सरकारले अर्को सरकारलाई कर तिर्ने कुरा कानुनी र व्यवहारिक दुबै हिसावले मनासिफ नहुने दावी गर्नु भएको छ ।