तेल्लोक स्पोर्टिङ क्लवको सामाजिक अभियान : जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणसंगै सम्मान गरियो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २४ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लवले सिरिजङ्गा–४ तेल्लोक क्षेत्रका ३८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
तेल्लोकभित्र रहेका ९ वटा टोलमा पुगेर क्लवले ८० बर्ष देखि ९८ बर्षसम्मका ३८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । साउन २१ गतेबाट सुरु गरिएको जेष्ठ नागरिक सम्मन अघि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकसंगको प्राविधिक सहयोगमा तेल्लोक क्षेत्रका जेष्ठ नागरिकहरुको प्राथमिक स्वास्थ्य परीक्षण समेत गरिएको क्लवका सचिव रञ्जित मावोले जानकारी दिनुभयो । क्लवले आफ्नो छैटौं स्थापना दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको क्लवका कोषाध्यक्ष दिनेश भट्टराई बताउँनुहुन्छ ।
खेलकुद,पर्यटन प्रर्वद्धन,सरसफाई,जेष्ठ नागरिक सम्मानसहितका सामाजिक कार्यमा संलग्न तेल्लोक स्पोर्टिङ क्लवले विगत लामो समय देखि सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलाको आयोजकको भूमिका निर्वाह गर्दै आइरहेको छ । छैटौं संस्करणको सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलाको तयारी गरिरहेको क्लवले गत साउन ११ गते गएको मंसिर २३ देखि २९ गतेसम्म सञ्चालन भएको पाँचौं संस्करणको सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलाको आयव्यय विवरण तथा सार्वजनिक सुनुवाई समेत सम्पन्न गरिसकेको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकका वडाध्यक्ष रुपदास भट्टराई सहितका जनप्रतिनिधिहरु,जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश),क्लवका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।