| |

सूचना विभागको घुम्ती शिविरबाट पत्रकार लाभान्वित

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १७ । सूचना तथा प्रशारण विभागले घुम्ती शिविर सञ्चालन गरी ताप्लेजुङका पत्रकारलाई सेवा प्रदान गरेको छ । विभागले आइतबार र सोमबार दुई घुम्ती शिविर सञ्चालन गरी स्थानीय पत्रकारलाई पत्रकार परिचयपत्र तथा अनलाइन दर्ता सेवा प्रवाह गरेको हो ।
सूचना तथा प्रसारण विभागका शाखा अधिकृत टेकबहादुर वलीको नेतृत्वमा आएको टोलीले घुम्ती शिविरमा २९ जना पत्रकारलाई परिचयपत्र वितरण गरेको छ । उक्त सङ्ख्यामध्ये १६ जनाको नवीकरण र १३ जनालाई नयाँ परिचयपत्र वितरण गरिएको शाखा अधिकृत वलीले जानकारी दिनुभयो ।
यस्तै शिविरमार्फत तीन वटा अनलाइन सञ्चारमाध्यम दर्ता भएको छ भने चार वटाको नवीकरण गरिएको विभागका कम्प्युटर अप्रेटर खगेन्द्र कार्कीले जानकारी दिनुभयो । नेपाल पत्रकार मसहाङ्घ जिल्ला शाखाको सहकार्यमा सञ्चालित घुम्ती शिविरले स्थानीय पत्रकारलाई ठूलो राहत पुगेको छ । काठमाडौं पुगेर विभागबाट लिनुपर्ने सेवा आफ्नै जिल्लाबाट लिन पाउँदा पत्रकारहरुको खर्च जोगिनुको साथै ठूलो राहत पुगेको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष आनन्द गौतमले बताउनुभयो ।
यता शिविरसँगै विभागले पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम पनि प्रदान गरेको छ । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारलक्षित क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत यहाँ तालिम सञ्चालन गरेको विभागले जनाएको छ । तालिममा त्रिविका सहप्राध्यापक डाक्टर विजय मिश्रले सहजीकरण गर्नुभएको थियो । समाचार लेखन, संकलन, अभिव्यक्ति शैली लगायतका विषयमा डा. मिश्रले प्रशिक्षण दिनुभएको छ ।
आइतबार र सोमबार दुई दिन सञ्चालित घुम्ती शिविर तथा पत्रकार क्षमता अभिवृद्धि तालिममा एफएम रेडियो, अनलाइन, पत्रपत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध स्थानीय पत्रकारले सेवा लिएका छन् । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको समन्वयमा घुम्ती शिविर सञ्चालन गरिएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts