मुधिङ कोक्मा पार्क हुँदै आउने–जाने पदमार्गको सफाई
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २४ । ताप्लेजुङ सदरमुकामको तोक्मे–मुधिङ कोक्मा पार्क हुँदै भेडाघरसम्मको पदमार्गमा आइतवार सरसफाई गरिएको छ ।
फुङलिङ नगरपालिका,जिल्ला प्रशासन कार्यालय,पाथीभरा क्षेत्र विकास समिति,जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा,डिभिजन वन कार्यालय,सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला समिति र फुङलिङ नगर समितिको सक्रियता तथा सरोकारवाला निकायको सहभागितामा सफाई गरिएको हो । बिदाका एकदिनको बिहानी समयमा कुनै न कुनै रचनात्मक कार्य गर्नेगरी जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको बैठकबाट निर्णय भए बमोजिम सामुदायिक वन स्थापना दिवस समेतको अवसर पारेर पदमार्ग सफाई गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघका अध्यक्ष सुरज ओझाका अनुसार हरेक बर्षको साउन २५ गते सामुदायिक वन दिवसको रुपमा मनाइन्छ । सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँमा रहेको वनलाई व्यवस्थापनका लागि स्थानीय समुदायलाई हस्तान्तरण गरिएको २०३० सालको साउन २५ गतेलाई स्मरण गर्दै हरेक वर्ष यो दिन सामुदायिक वन दिवसको रूपमा मनाउने गरिन्छ । सप्ताहव्यापी दिवसको मूल दिनको अघिल्लो दिन यसबर्ष ताप्लेजुङको धेरै मानिसले प्रयोग गर्ने पदमार्ग सफाई गरिएको ओझाले जानकारी दिनुभयो । आइतवार सफाई गरिएको क्षेत्रमा नसड्ने प्लाष्टिकजन्य सहितका फोहोर सामाग्री यततत्र फालेको पाईएकोले आउँदो यसबर्षको निमाजति सेवा दिवसका अवसरमा सो क्षेत्रमा डस्बिन राख्ने योजना अघि सारिएको प्रजिअ दाहालले बताउनुभयो ।
डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख ललितकुमार यादवले डस्बिनको प्रवन्धका लागि आफुहरुले लागत अनुमान र बजेटको प्रवन्धका लागि आवश्यक तयारी थालेको बताउनुभयो । सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले पदमार्ग र पार्क क्षेत्रको सफाई गरेर यो क्षेत्रको आर्कषणलाई कायम राख्न चलाईएको सफाई अभियान प्रभावकारी हुने बताउनुभयो । पार्क र पदमार्ग संरक्षणमा सबैको ध्यान जानु सकारात्मक बिषय भएको उपप्रमुख ओझाको भनाई थियो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख(डिएसपी)उमेश जोशी,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति धनबहादुर बोहोरा,पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ,जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु,सामुदायिक वन उपभोक्ताकर्मी,सुरक्षाकर्मी र सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।