फुनपा वडा नं ६ को भवन उद्घाटन,सार्वजनिक सुनुवाईसंगै जग्गादाता र उत्कृष्ट कर्मचारी सम्मानित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १७ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ ले नवनिर्मित भवनको उद्घाटन,जग्गा दाता सम्मान र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
२०७९ सालको फागुन २८ गते सम्पन्न भएपनि यसको औपचारिक उद्घाटन भने बुधवार मात्र गरिएको छ । वडा सचिव रनकुमार विकका अनुसार भवनका लागि १ करोड ३६ लाख ३९ हजार १ सय ४८ रुपैयाँ लागत अनुमान रहेकोमा ममता निर्माण सेवाले ७२ लाख ८३ हजार ६ सय ८० रुपैयाँमा भवन निर्माण कार्य पूरा गरेको हो । भवनको फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु र वडाध्यक्ष मदन गुरुङ(तेज)ले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ् । भवन उद्घाटन संगै वडा कार्यालय भवन निर्माणका लागि फुङलिङ नगरपालिकालाई निःशुल्क जग्गा रजिष्ट्रशेन पास गरिदिने जग्गादाताहरुलाई सम्मान गरिएको थियो ।
भवन निर्माणका लागि यिगेन्द्रकुमार गुरुङ र खिनमाया गुरुङले ३ रोपनी,स्वर्गीय नरबहादुर गुरुङको परिवारकातर्फबाट याम गुरुङ र सरिता गुरुङले १ रोपनी ७ आना,स्वर्गीय आमा बछलीमाया गुरुङ तथा स्वर्गीय छोरा खड्गबहादुर र पद्मा गुरुङको नाममा उहाँहरुका छोराछोरीले मिलेर झण्डै २ रोपनी १४ आना र स्वर्गीय बलबहादुर,चन्द्रबहादुर,पूर्णबहादुर र बृखबहादुरको स्मृतिका उहाँहरुका छोराछोरीकोतर्फबाट ६ रोपनी जग्गा प्राप्त भएको वडा कार्यालयले जनाएको छ । जग्गादाताहरुकातर्फबाट यिगेन्द्रकुमार र खिनमाया इन्द्रकुमार गुरुङ,काजीमान गुरुङ र कुमार गुरुङ,सागर गुरुङ र कृष्णबहादुर गुरुङ तथा भीबहादुर गुरुङले सम्मानपत्र ग्रहण गर्नु भएको थियो । वडा कार्यालय उद्घाटनकै अवसरमा वडा कार्यालयमा कर्मचारीमध्ये उत्कृष्ट काम गर्ने सव र्ईञ्जिनियर मनोज पौडेल तथा कार्यालय कर्मचारी मनिषा राई जनही नगद ३ हजार रुपैयाँसहित पुरस्कृत हुनुभयो ।
फुनपा वडा नं ६ ले आर्थिक बर्ष २०८२।८३ मा वडाक्षेत्रमा नगरपालिका,वडापालिका,संघीय र प्रदेश सरकार मातहत सञ्चालन भएका योजना,योजनाको कार्यान्वयन अवस्था,आगामी आर्थिक बर्ष २०८३।८४ मा सञ्चालन हुने योजनासहितको विवरण प्रस्तुति सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा याम गुरुङ,डिल्लीराम गुरुङ,पूर्ण गुरुङ,दीपेन्द्र कार्की,राजु गुरुङ र कुमारी लिम्बूले विभिन्न जिज्ञासा तथा सुझावहरु पेश गर्नु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका बिषयबस्तुका सवालको जवाफ दिदैं वडाध्यक्ष गुरुङले सेवा प्रवाह प्रभावकारी बनाउन सेवाग्राहीले उठाएका सवालहरुको सम्बोधन तथा प्राप्त सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा फुङलिङ १ का वडाध्यक्ष रुद्रकुमार मादेन,२ का वडाध्यक्ष मोहन न्यौपाने,३ का वडाध्यक्ष टंकबहादुर पालुङ्वा,७ का वडाध्यक्ष योगेन्द्रप्रसाद निरौला र वडा नं ११ का वडा सदस्य लक्ष्मीप्रसाद बिष्ट सहित जनप्रतिनिधि तथा वडासचिव सहितका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।