पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण समितिमा सुरेश लिम्बू

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ८ । नागरिक स्तरबाट पाथीभरा मन्दिर क्षेत्रको संरक्षण तथा प्रर्वद्धनका लागि सक्रिय संस्था पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्दन समितिको अध्यक्षमा सुरेश लिम्बू चयन हुनु भएको छ । समितिको साधारणसभाले यसपटक बरिष्ठ उपाध्यक्ष र सहकोषाध्यक्ष पदको समेत संरचनात्मक व्यवस्था गरेको छ ।

स्रोतका अनुसार समितिको बरिष्ठ उपाध्यक्षमा नारायण थापा चयन हुनु भएको छ । ताप्लेजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनु भएका थापा यसअघि समितिको उपाध्यक्ष रहनु भएको थियो । समितिको उपाध्यक्षमा शान्ति मादेन चयन हुनु भएको छ । अध्यक्षका लागि मादेनको समेत बलियो दाबेदारी थियो । मादेन ताप्लेजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनु भएको छ । सचिवमा लक्ष्मीप्रसाद काफ्ले,कोषाध्यक्षमा मात्रिकाप्रसाद नेपाल र सहसचिवमा दिनेश खवास दोहोरिनु भएको छ । सहकोषाध्यक्षमा भने तेजबहादुर खत्री भट्टराईले जिम्मेवारी पाउनु भएको छ ।

गत जेठ २९ गते समितिको साधारणसभा भएको थियो । अधिबेशन साधारणसभाको उक्त दिन बहुमत साधारणसभा सदस्य उपस्थित नभएपछि साधारणसभा दोस्रो चरणका लागि स्थगित गरिएको थियो । दोस्रो चरणको सभा भने कार्य समितिले तोके र निर्धारण गरे अनुसार हुने भएकोले समितिले निर्धारण गरे अनुसारको कार्यतालिकामा सम्पन्न भएको हो । कार्य समितिको निर्वाचनका लागि समिति सदस्य आनन्द गौतम अध्यक्ष रहेको रहेको निर्वाचन समिति गठन भएको थियो ।

पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत रहनु भएका गौतमले बिधानको व्यवस्था अनुसार कार्य समितिलाई प्राप्त अधिकार समेतको प्रयोग गरी नयाँ कार्य समितिको निर्वाचन आवह्वान गरेकोमा सर्वसम्मत समिति चयन भएको जानकारी दिनुभयो । पाथीभरा क्षेत्रको विकास,प्रर्वद्धन र उन्नयनका लागि सक्रिय नागरिक स्तरको संस्था २०४८ सालमा स्थापना भएको हो ।

Similar Posts