कुटपिट घटना अनुसन्धानका लागि प्रहरीद्धारा टोली गठन
उज्यालो पोष्ट
ताप्लेजुङ,असार १३ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका वडा नं २ थेचम्बुमा एक मजदुरमाथि निर्मम ढंगले कुटपिट भएको घटना सामाजिक सञ्जालमा बाहिरिएपछि ताप्लेजुङले अनुसन्धानका लागि टोली गठन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)उमेश जोशीले सामाजिक सञ्जालमा बाहिरिएको उक्त घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा तीन सदस्य समिति गठन गरिएको जानकारी दिनुभयो । शनिवार गठन गरिएको अनुसन्धान टोलीलाई घटनाको बारेमा अनुसन्धान गरी बिस्तृत प्रतिबेदन पेश गर्न ५ दिनको समय दिईएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
अनुसन्धान टोलीले दिएको प्रतिबेदनका आधारमा टोलीले दोषी उपर कारवाहीको प्रकृया अघि बढाउने समेत डिएसपी जोशीले बताउनुभयो । कुटपिटबाट पीडित व्यक्ति विकास लामा रहेको प्रहरीले जनाएपनि उनको ठेगाना बारे केहि खुलाएको छैन । शुक्रवारबाट सामाजिक सञ्जालमा सडकमा सुताएर एक व्यक्तिलाई केहि समूहले कुटपिट गरेको भिडियो बाहिर आएको थियो ।