मैवाखोलाले पालिकाका ६ वटै वडामा समान रुपले दियो बजेट सिलिङ,सबै वडाले पाउने भए ५९ लाख रुपैयाँ
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाका ६ वटै वडालाई समान किसिमले वडागत सिलिङ प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिकाका ६ वटा वडालाई समान ५९ लाख रुपैयाँका दरले बजेट सिलिङ प्रदान गरिएको हो ।
पालिका अध्यक्ष वनेमका अनुसार पालिकाले प्रत्येक वडालाई कार्यक्रमतर्फ ५५ लाख रुपैयाँ र प्रशासनिक खर्च अन्तरगत ४ लाख रुपैयाँ गरी कुल ५९ लाख रुपैयाँका दरले बजेट सिलिङ दिईएको हो । पालिकाले प्रत्येक वडालाई समान रुपले बजेटको सिलिङ दिने कार्यलाई अघिल्लो बर्षझैं यसबर्ष समेत निरन्तरता दिएको जनाएको छ । पालिका अध्यक्ष वनेमले अध्यक्षको पार्टी आवद्ध दलले जितेको वा अर्को दलले जितेको वडा भनेर भेदभाव नगरिएको भन्दै सामाजिक सञ्जालमा प्रत्येक वडालाई समान रुपले बजेटको सिलिङ दिएको बताउनु भएको छ । वनेमले सामाजिक सञ्जालमा स्रोतले भ्याएसम्म सामूहिक रुपले मिलेर बजेट तथा कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनको क्रममा मैवाखोला सहित ताप्लेजुङका ९ वटै स्थानीय तह तथा ६१ वटै वडामा नेपाली काँग्रेस,तत्कालिन नेकपा (माओवादी केन्द्र) र तत्कालिन नेकपा एसको गठबन्धन थियो । गठबन्धनकातर्फबाट तत्कालिन नेकपा(माओवादी केन्द्र)का उम्मेदवार वनेम अध्यक्षमा र नेपाली काँग्रेसका उम्मेदवार कमलकुमारी लिम्बू उपाध्यक्षमा विजयी हुनु भएको थियो । पालिकाका ६ वटा वडामध्ये वडा नं १ मा तत्कालिन नेकपा(माओवादी केन्द्र)का चन्द्रकुमार तामाङ,वडा नं २ मा तत्कालिन नेकपा एसका नरेन्द्रकुमार लिम्बू,वडा नं ३ मा नेपाली काँग्रेसका खगेन्द्र थक्लुङ,वडा नं ४ का नेपाली काँग्रेसका फुर्वा शेर्पा,वडा नं ५ मा तत्कालिन नेकपा(माओवादी केन्द्र)का केशर लिम्बू र वडा नं ६ मा नेकपा एमालेका राजुमान लिम्बू विजयी हुनु भएको थियो ।