ताप्लेजुङमा जनयुद्ध दिवसमा दीप प्रज्ज्वलन

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १ । ताप्लेजुङमा माओवादी जनयुद्ध दिवसका अवसरमा बिहीबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । नेकपा (मााओवादी केन्द्र) को सहायक संगठन वाईसीएल नेपाल र अनेरास्वियु (क्रान्तिकारी) को संयुक्त आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो ।
माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा जम्मा भएर ३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलन कार्यक्रममा माओवादी केन्द्र ताप्लेजुङका सहइन्चार्ज लक्ष्मी अन्छङ्बो (आवाज), जिल्ला सचिव सागरमणि गौतम, प्रदेश कमिटी सदस्य सुरज ओझा लगायतका पार्टीका नेतृत्वहरुको सहभागिता रहेको थियो ।
दीप प्रज्ज्वलनसँगै माओवादी जनजयुद्ध र जनयुद्ध दिवसका बारेमा माओवादी केन्द्र फुङ्लिङ नगरकमिटीका पूर्वअध्यक्ष गंगाराम शङ्खर र वाईसीएलका जिल्ला अध्यक्ष कैलास माबोले धारणा राख्नुभएको थियो । युवा तथा विद्यार्थीको सक्रिय सहभागितामा जनयुद्ध दिवसका अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष अनिता पन्दाकले जानकारी दिनुभयो ।
यता जनयुद्ध दिवसको अवसरमा जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको थियो । सार्वजनिक विदामा गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, संघ संस्था, बैंक र शैक्षिक संस्थाहरू बन्द भएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।