|

पाँचौं मेयरकप ब्याड मिन्टन प्रतियोगिता फागुन १४ बाट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ४ । ताप्लेजुङको फुङलिङमा फागुन १४ देखि १७ गते सम्म पाँचौं मेयरकप जिल्ला स्तरीय ब्याड मिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।

आयोजक जिल्ला ब्याड मिन्टन संघका अध्यक्ष सुरेश सिंघकका अनुसार प्रतियोगिता फुङलिङ नगरपालिका वडा नं ६ स्थित इन्द्रेणी ब्याड मिन्टन हलमा सञ्चालन हुने छ । प्रतियोगिता अन्तरगत ८ वटा बिधामा खेल सञ्चालन हुने भएको छ । प्रतियोगितामा दशौं राष्ट्रिय खेलाडी छनौटतर्फ प्रथम हुनेले नगद १२ हजार र द्धितीय हुनेले नगद ८ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै महिला र पुरुषतर्फ ताप्लेजुङ र्‍याङकिङमा प्रथम हुनेले नगद १२ हजार र द्धितीय हुनेले नगद ८ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् ।

जिल्ला स्तरीय प्रतियोगितातर्फ ‘ए’समुहको पुरुष डबल्सतर्फका बिजेताले नगद २० हजार र उपबिजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउँदा ‘बी’समुहको पुरुषत डबल्सर्फका बिजेताले नगद १६ हजार र उपबिजेताले नगद १२ हजार रुपैयाँ पुरस्कार पाउने छन् । ४५ बर्ष भन्दा माथि उमेर समूहको भेट्रान्स डबल्सतर्फका बिजेताले नगद १६ हजार र उपबिजेताले नगद १२ हजार रुपैयाँ पुरस्कार पाउँदा कर्मचारी वा जनप्रतिनिधि डबल्सतर्फका बिजेताले नगद १६ हजार र उपबिजेताले नगद १२ हजार रुपैयाँ पुरस्कार पाउने जिल्ला ब्याड मिन्टन संघले जनाएको छ ।

एकलतर्फ १५ बर्ष मुनिको पुरुषतर्फ र महिलातर्फका बिजेता र उपबिजेतालाई ब्याडमिन्टन र्‍याकेट पुरस्कार स्वरुप दिइने भएको छ । तर कति मूल्यको र्‍याकेट दिइने भनेर चाँही खुलाईएको छैन । अनुशासित र उदयीमान खेलाडी दुईजनालाई ५ हजार मूल्य बराबरको ब्याडमिन्टन र्‍याकेट दिइने भएको छ । एकलतर्फ १५ बर्ष मुनिको पुरुषतर्फ र महिलातर्फका खेलाडीलाई प्रवेश शुल्क लाग्ने छैन भने अरु सबैलाई नगद एकहजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

१५ बर्ष मुनि उमेर समूह र ताप्लेजुङ र्‍याङकिङतर्फ उत्कृष्ट ५ भित्र पर्ने खेलाडीलाई निःशुल्क रुपमा एकमहिने ब्याड मिन्टन प्रशिक्षण तालिम समेत दिइने आयोजक जिल्ला ब्याड मिन्टन संघले जनाएको छ । फुङलिङ नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।

 

Similar Posts